काठमाडौं — त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरूमा देशभर स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन जारी रहेको छ । त्रिविका ६२ आंगिक क्याम्पसहरु मध्ये ४८ र सामुदायिक क्याम्पसमा आज बिहान ८ बजेदेखि सुरु भएको मतदान अपराह्न्न ४ बजेसम्म चल्ने भएको हो ।

त्रिविसहित काठमाडौं उपत्यकाका १५ क्याम्पसमा मतदान जारी छ भने ११ वटा क्याम्पसको निर्वाचन स्थगित भएको छ । जस अनुसार नेपाल कमर्श क्याम्पस, बानेश्वर बहुमुखी क्याम्पस, कोटेश्वर बहुमुखी क्याम्पस र ग्रामिण आदर्श क्याम्पस मनमैजुमा तालाबन्दीका कारण अन्तिम समयमा निर्वाचन स्थगित भएको हो ।

पशुपति क्याम्पस चावहिल, आयुर्वेदिक क्याम्पस कीर्तिपुर, त्रिचन्द्र क्याम्पस घण्टाघर, पाटन बहुमुखी क्याम्पस तथा विश्वभाषा, रत्नराज्यलक्ष्मी र बाल्मिकी क्याम्पस प्रदर्शनीमार्गमा मनोनयन दर्ता भएको छैन । बौद्ध बहुमुखी क्याम्पस, कान्तिपुर कलेज थली, सहयोगी बहुमुखी महाविद्यालय गोकर्ण र कैलाशकुट कलेज जयवागेश्वरीमा स्ववियु सदस्य निर्विरोध निर्वाचित भएका छन् ।