मृत अवस्थामा पाटेबाघ, फाइल तस्वीर
भरतपुर — चितवन जिल्लाको कालिका नगरपालिका–७ स्थित पदमपुर सामुदायिक वन क्षेत्रसँग जोडिएको संरक्षित क्षेत्रमा एउटा पाटेबाघ मृतावस्थामा भेटिएको छ । सो संरक्षित क्षेत्रको केउरेनी घोलमा हिजो शनिबार दिउँसो पाटेबाघ मृत अवस्थामा भेटिएको हो ।
जिल्ला वन कार्यालय चितवनका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार अन्दाजी छ वर्षको भाले बाघ खानामा विष परेकाले मरेको हुनसक्ने अनुमान छ । शनिबार नै मृत उक्त बाघको शव परीक्षण गरेर नमूना परीक्षण सुरु गरिएको छ ।
बाघको मुख र मलद्वारमा सेतो फिँज र पेटमा बाख्राको अङ्ग भेटिएको उहाँले जानकारी दिनुभयो । दुई वर्षको अवधिमा राष्ट्रिय वन क्षेत्रमा बाघ मरेको यो पहिलो घटना हो । जिल्लाको राष्ट्रिय वन क्षेत्रमा १२ देखि १४ बाघ रहेको अनुमान वन कार्यालय गरेको छ ।