फाइल तस्वीर
काठमाडौं — भारत आयल कर्पोरेशनले नेपाल पठाउने पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको नेपाल आयल निगमले जनाएको छ । सरकारी स्वामित्वमा रहेको नेपाल आयल निगमलाई इन्धन बिक्री गर्ने भारतीय आयल कर्पोरेसन (आईओसी) ले पठाएको नयाँ मूल्यअनुसार पेट्रोलको नयाँ मूल्य प्रतिलिटरमा ८६ पैसा र डिजेलको मूल्य प्रतिलिटरमा १ रुपैयाँ ७४ पैसा घटाएको जानकारी गराएको हो ।
अहिले बजारमा पेट्रोल प्रति लिटर १७८ रुपैयाँ र डिजेल तथा मट्टीतेल प्रतिलिटर १७५ रूपैयाँमा बिक्री भइरहेको छ । यस्तै खाना पकाउने ग्याँसको मूल्य प्रति सिलिण्डर १८ सय रुपैयाँ छ ।
भारतबाट घटेर प्राप्त भएको मूल्यका आधारमा अब निगम सञ्चालक समिति वा व्यवस्थापन बैठकले इन्धनको उपभोक्ता मूल्यबारे निर्णय गर्ने छ । तर नेपाल आयल निगमले आईओसी मूल्य बढाउँदा नेपालमा पेट्रोलियम पदार्थको मूल्य बढाउने र घटाएर पठाउँदा पनि निगम घाटामा रहेको भन्दै मूल्य नघटाउने रोगले ग्रसित छ ।