फाइल तस्वीर
काठमाडौं — जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै छ । कार्यकारिणी समितिको बैठक भोलि हुने उपराष्ट्रपति निर्वाचन र पार्टीको कोटाबाट रिक्त भएको समानुपातिक सासंद सिटका विषयमा टुङगो लगाउन बैठक बस्न लागेको हो ।
बैठकमा उपराष्ट्रपति पदका लागि भोलि शुक्रबार हुने निर्वाचनमा गठबन्धनको साझा उम्मेदवारका बारेमा छलफल हुनेछ । जसपाले रामसहायप्रसाद यादवलाई आधिकारिक उम्मेदवार बनाएको छ भने नेकपा एमालेबाट पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य उपराष्ट्रपति पदको उम्मेदवार बन्नुभएको छ । गठबन्धनले यादवलाई साझा उम्मेदवार बनाउने बलियो सम्भावना छ । जनमत पार्टीले पनि ममता झालाई उम्मेदवार बनाएको छ ।
जसपाले आज बस्ने पार्टीको कार्यकारिणी बैठकबाट समानुपातिक कोठाबाट प्रतिनिधिसभा सदस्यमा कसलाई पठाउने भन्ने विषयको पनि टुङ्गो लगाउने जसपाका एक नेताले बताउनुभएको छ । जसपाबाट समानुपातिक कोटाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद शहनाज रहमानको फागुन १३ गते निधन भएपछि जसपाको एक सिट रिक्त छ ।
पार्टीबाट मुस्लिम क्लस्टरको दोस्रो स्थानमा रहनुभएकी मञ्जु अन्सारीको समानुपातिक कोटाबाट प्रतिनिधिसभा सदस्यका लागि आजको बैठकले नाम सिफारिस गर्ने गरी निर्णय गर्न सक्ने बताइएको छ ।