फाइल तस्वीर
काठमाडौं — आइसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय सिरिजअन्तर्गतको खेल आज बिहान हुँदैछ । आज बिहीबार बिहान ९ बजे कीर्तिपुरस्थित त्रिविवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा नेपालले युनाइटेड अरब इमिरेट्स (यूएई)बीच हुन लागेको हो ।

नेपाल घरेलु मैदान र दर्शकहरुको फाइदा लिंदै आज हुने यस सिरिजको आफ्नो अन्तिम खेललाई सुखद् अन्त्य गर्न मैदानमा उत्रँदैछ । नेपालले आज हुने खेलमा युनाइटेड अरब इमिरेट(यूएई)लाई पाखा लगाउँदै आगामी जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा सोझै स्थान बनाउन चाहन्छ । नेपाल सुखद् नतिजाको पक्षमा रहँदै मैदानमा उत्रिँदा केही दवावको सामना गर्नुपर्ने छ । आजको खेलमा युएईसँग पराजित भए वा अङ्क बाँड्नुपर्ने अवस्था आएमा सोझै विश्वकप खेल्ने नेपालको सपना तुसरापात हुनेछ ।

आजको खेलको नतिजा नेपालले आफ्नो पक्षमा पार्न नसके नामिबिया शीर्ष ३ मा रहँदै विश्वकप छनोटको यात्रामा सुरक्षित हुनेछ । तर नेपालले भने यसै महिनाको अन्तिममा नामिबियामा हुने क्वालिफायर प्लेअफ खेल्नुपर्नेछ ।

सिरिजको पहिलो खेलमा यूएईलाई हराएको नेपाल उच्च मनोबलमा मैदान उत्रनेछ । घरेलु समर्थकको साथमा नेपाली टोली जितको लागि मैदान उत्रने छ । यूएईसँगको खेलसँगै नेपालले लिग २ को यात्रा सुखन नतिजा निकालेर सकाउने पक्षमा छ ।

आजको खेलबाट नेपाली राष्ट्रिय त्रिकेट टिमका पूर्वकप्तान एवम् कुसल क्रिकेटर सन्दीप लामिछानेले दुई विकेट लिन सकेभने घरेलु मैदानमा दुर्लभ विश्व कीर्तिमान आफ्नो नाममा दर्ज गर्न मौका मिल्नेछ । सन्दीपले आजको खेलमा दुई विकेट लिनसके ओडीआईमा सर्वाधिक छिटो १ सय विकेट पूरा गर्दै विश्व कीर्तिमान बनाउने खेलाडी बन्ने भाग्यमानी खेलाडी बन्नेछन् । उनले यसअघि ४० ओडीआई खेलमा ९८ विकेट लिइसकेका छन् । अब २ विकेट लिए सन्दीपले एक सय विकेटको कोशेढुङ्गा पार गर्दै ओडीआईमा सर्वाधिक छिटो एक सय विकेट लिने कीर्तिमान रच्ने छन् ।

यसअघि यो कीर्तिमान अफगानिस्तानका क्रिकेटर राशिद खानको नाममा रहेको छ । राशिद खानले सन् २०१८ मा ४४ खेलमा ओडीआईमा एक सय विकेट पूरा गरेका थिए । खानपछि अष्ट्रेलियाका मिचेल स्टार्कले ५२ खेलमा ओडीआईमा एक सय विकेटको माइलस्टोन पार गरेका थिए । आजको खेलबाट सन्दीपले यो कीर्तिमानलाई धक्का दिनसक्ने छन् ।