गठबन्धनका नेताहरुको बैठक, फाइल तस्वीर
काठमाडौं — सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र), नेपाली काङ्ग्रेसलगायत गठबन्धनमा आबद्ध दलका नेताहरुको बैठक आज पनि बस्दै छ । गठबन्धन दलहरुको बैठक भोलि शुक्रबार हुने नयाँ उपराष्ट्रपति चयनको लागि गठबन्धन दलको साझा उम्मेदवार तय गर्न बस्न लागेको हो ।
उपराष्ट्रपतिको निर्वाचनमा साझा उम्मेदवार बनाउन हिजो साँझ प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धन दलहरुको बैठक बसेको थियो । हिजो साँझ बसेको बैठक निश्कर्षविहिन भएपछि सोही बैठकको निरन्तरता स्वरुप आज बिहीबार पनि बैठक बस्न लागेको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने आजको बैठकले उपराष्ट्रपतिमा कसलाई आधिकारिक उम्मेदवार चयन गर्ने भन्ने अन्तिम टुङ्गो लाग्ने छ । गठबन्धनबाट तीन जनाको उम्मेदवारी परेको छ भने नेकपा एमालेले पनि अष्टलक्ष्मी शाक्यलाई उम्मेदवार बनाएको छ । गठबन्धनबाट उम्मेदवार भएका मध्ये जनता समाजवादी पार्टी नेपालबाट रामसहायप्रसाद यादव, प्रमिलाकुमारी यादव र डा. सिके राउत नेतृत्वको जनमत पार्टीबाट ममता झाको उम्मेदवारी परेको छ ।
राष्ट्रियसभा सदस्य एवम् जसपाकी नेतृ प्रमिलाकुमारी प्रतिस्पर्धाबाट पछि हट्दै आफ्नो पार्टीका रामसहायप्रसाद यादवलाई समर्थन गर्नुभएको छ । गठबन्धनका मुख्य ठूला चार दल नेपाली काङ्ग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी नेपाल र नेकपा (एकीकृत समाजवादी) यादवको पक्षमा एकमत रहेका छन् । गठबन्धनमै रहेको जनमत पार्टीले भने ममता झालाई नै गठबन्धनको साझा उम्मेदवार बनाउन जोड गरिरहेको छ ।
यता निर्वाचन आयोगले तयार गरेको मतपत्रमा उपराष्ट्रपतिमा उम्मेदवारी दिएका चारै जनाको नाम उल्लेख छ । राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्यका लागि एउटा र प्रदेशसभा सदस्यका लागि अर्को मतपत्र तयार गरिएको छ ।
गठबन्धनको आज बस्ने बैठकलाई उपराष्ट्रपतिका लागि साझा उम्मेदवार को हुने भन्ने विषयमा सहमति जुटाउनै पर्ने दवाव छ । जनमत पाटीले ममता झालाई ‘व्याक’ गराए जसपाका उम्मेदवार रामसहायप्रसाद यादवको पल्लाभारी हुने निश्चित प्रायःछ ।