फाइल तस्वीर
काठमाडौं — सरकारले वैदेशिक रोजगारीमा जानेहरुलाई दिइने श्रम स्वीकृतिको म्याद बढाउने निर्णय गरेको छ । श्रम मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यस्तो निर्णय गर्नुभएको हो ।

सरकारले यसअघि दिंदै आएको दुई वर्षे समयावधिको श्रम स्वीकृतिलाई बढाएर रोजगारदाता र श्रमिकबीच भएको सम्झौता र गन्तव्य मुलुकबाट प्राप्त कार्यअनुमति सम्झौताको अवधि जति नै अवधि तोकी श्रम स्वीकृति प्रदान गर्ने भएको छ ।

दुई वर्षको लागि मात्रै श्रम स्वीकृति दिँदा वैदेशिक रोजगारीमा जानेहरुले कार्य अवधि र भिसाको म्याद बाँकी हुँदै श्रम स्वीकृतिको लागि स्वदेश फर्किनुपर्ने बाध्यता अब हटेको छ । विदेशमै बस्नेले पनि श्रम स्वीकृतिको अवधि नघाई बस्नुपर्ने बाध्यताको निराकरण गर्न भन्दै सरकारले भिसा र रोजगारदातासँगको सम्झौताका आधारमा श्रम स्वीकृति दिने निर्णय गरेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

उक्त मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेद्वारा जारी विज्ञप्तिमार्फत् श्रम स्वीकृतिको म्याद सकिएका कारण विदेशमा मृत्यु भएका धेरैका परिवारले आर्थिक राहत र बिरामी परेकाले आर्थिक सहायता समेत पाउनसकेका थिएनन्। उनीहरु यो सुविधाबाट वञ्चित नहोऊन् भनेर सरकारले पुनः श्रम स्वीकृतिको लागि विदेशबाटै लिनसक्ने व्यवस्था गर्ने निर्णय गरेको जानकारी दिएको छ ।

यस्तै सरकारले गन्तव्य मुलुकका कूटनीतिक नियोगहरुबाटै पुनः श्रम स्वीकृति दिने व्यवस्था समेत गरेको छ। त्यसका लागि विदेशबाटै शुल्क जम्मा गर्न सकिने र अनलाइनबाटै पुनः श्रम स्वीकृति लिन सकिने व्यवस्था मिलाई रहेको मन्त्रालयले जानकारी दिएको छ।