फाइल तस्वीर
काठमाडौं — प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दश दलीय गठबन्धनका नेताहरुको बैठक बसिरहेको छ । उपराष्ट्रपति निर्वा देशको समयसामयिक विषयमा छलफल गर्न बैठक बसेको हो ।

आसन्न उपराष्ट्रपति पदको निर्वाचन, मन्त्रिपरिषद विस्तार र सरकारले विश्वासको मत लिने विषयमा छलफल चलिरहेको बताइएको छ । चैत ३ गते शुक्रबार उपराष्ट्रपति पदको निर्वाचन हुँदैछ । दश दलीय गठबन्धनका दुई राजनीतिक दल जनता समाजवादी पार्टी नेपाल र जनमत पार्टीबाट उपराष्ट्रपतिमा उम्मेदवारी परेको छ ।

जसपाबाट रामसहायप्रसाद यादव र जनमत पार्टीबाट ममता झाको उम्मेदवारी दर्ता भएको छ । त्यसो त जसपाबाटै राष्ट्रियसभा सदस्य प्रमिला कुमारीले पनि उम्मेदवारी दिनुभएको थियो । उहाँले विज्ञप्ति निकाल्दै आफ्नो समर्थन रामसहायप्रसाद यादवलाई रहेको बताउनुभएको थियो ।

एउटै मोर्चामा रहेका दुई दलका उम्मेदवारमध्ये जसपाका उम्मेदवार रामसहायप्रसाद यादवको पक्षमा ठूला दलहरु रहेका छन् । जनमत पार्टीबाट उम्मेदवारी दर्ता गराउनु भएकी ममता झालाई उम्मेदवारी निस्प्रभावित बनाउन र गठबन्धनको एकल उम्मेदवारका रुपमा रामसहायप्रसाद यादवलाई बनाउन यतिबेला छलफल भैरहेको स्रोतको भनाइ छ ।

उपराष्ट्रपतिमा नेकपा एमालेले पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पनि उम्मेदवारी दर्ता गराउनुभएको छ ।