नेत्रविक्रम चन्द ’विप्लव’ महासचिव नेकपा, फाइल तस्वीर

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले दश वर्षे माओवादी जनयुद्धलाई अपराधीकरण नगर्न चेतावनी दिनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीबीचको पार्टी एकता घोषणा कार्यक्रममा बोल्दै महासचिव विप्लवले यस्तो चेतावनी दिनुभएको हो ।

माओवादी जनयुद्धलाई अपराधीकरण गर्न खोज्नेहरुले आफ्नो जीवनको र नेपालको राजनीतिक आन्दोलनमा आफ्नो अस्तित्वको ख्याल गर्नुपर्ने महासचिव विप्लवको धम्कीपूर्ण प्रतिक्रिया व्यक्त गर्नुभएको थियो ।

काठमाडौंको प्रज्ञाभवनमा आज बुधबार दिउँसो आयोजित नेपाल कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीबीचको पार्टी एकता घोषणा कार्यक्रममा बोल्दै नेता विप्लपले ‘जनताले लडेको त्यो युद्धलाई अपराधीकरण गर्ने काम सम्भव नभएको’ टिप्पणी गर्नुभएको थियो । जनयुद्धलाई अपराधीकरण गर्ने खालका गतिविधिमा संलग्नहरुलाई छुट दिन नसकिने महासचिव विप्लवको भनाइ थियो ।

नेकपा महासचिव विप्लवले पत्रकार सम्मेलनमा बोल्दै ‘जसले फासीवादको विरुद्ध लडे, ऊ नै अपराधी हुनुपर्ने हो र । २००७ सालमा क्रान्ति गर्ने मान्छे अपराधी हुनुपर्ने हो र ! जनयुद्ध मात्रै अपवाद हो, जो जनताले लडेको युद्ध हो । तर त्यो युद्धलाई पनि अपवादको रुपमा अपराधीकरण गर्न खोजिदैछ । त्यो पनि अपवाद हो । जनयुद्ध नेपालको इतिहासमा एउटा अपवाद हो । सुकुम्बासी, महिला, मजदुर, श्रमिक जनता, एकदम पीडितले लडेको युद्ध अपवादमा या एउटा युद्ध हो’ — भन्नुभएको थियो ।

जनयुद्धलाई अपराधीकरण गर्नेलाई कुनै पनि हालतमा छुट दिन नसकिने भन्नुहुँदै नेता विप्लवले ‘हामी यसलाई जो अपराधीकरण गर्ने उद्देश्यले आएको छ, उसले आफ्नो जीवनको पनि ख्याल गर्नुपर्छ । र, उसले नेपालको राजनीतिक आन्दोलनमा आफ्नो अस्तित्वको पनि ख्याल गर्नुपर्छ भनि चेतावनी दिनुभएको छ ।

महासचिव विप्लवले दलाल, पूजीवादी सत्ताको अन्त्य गर्दै वैज्ञानिक समाजवादको स्थापना गर्न नेपालमा कम्युनिष्ट पार्टीहरुबीचको एकता प्रक्रियालाई सुरु गरेको भएको भन्दै नेता विप्लवले नेपाल राष्ट्रलाई स्वाधीन बनाउने मूल उद्देश्य अन्तरगत आफूहरुले नेपालमा एउटै कम्युनिष्ट पार्टी बनाउने अभियान सुरु गरेको दावी गर्नुभयो ।