फाइल तस्वीर

काठमाडौं । वीर अस्पतालले पाँच जना स्टाफ नर्सलाई सेवामुक्त गराएको छ । सेवाबाट हटाइनेमा स्टाफ नर्स पाँचौ तहमा कार्यरत सम्झना श्रेष्ठ, सुशीला ढकाल, जमुना सिटौला, शान्ति लम्साल र ओमदेवी पुन रहेका हुन् ।

अस्पतालले जारी गरेको सूचना अनुसार अस्पतालमा जानकारी नगराई बिदा बसेको र सूचना प्रकाशित गर्दासमेत सम्पर्कमा नआएपछि उनीहरुलाई प्रक्रिया पु¥याएर सेवाबाट हटाइएको हो । पाँचै जना नर्सलाई पटक–पटक सूचना जारी गरी हाजिरीका लागि उपस्थिति गराउन खोज्दा पनि बेवास्ता गरेको अस्पतालले बताएको छ ।

‘बिदा स्वीकृत नगरी अस्पतालबाट बसेको र पटक–पटक सूचना जारी गर्दा पनि सूचना गरेको ३० दिनभित्रमा उपस्थितिका लागि अनुरोध गर्दा पनि उक्त समयमा कार्यालयमा हाजिरी हुन आएको छैन,’ सूचनामा उल्लेख गरिएको छ ।

अस्पतालका अनुसार ढकाल २०७६ फागुन १५, लम्साल ०७५ असार २२ गते, श्रेष्ठ ०७६ असोज १ गते, सिटौला ०७४ चैत १ गते र पुन ०७५ पुस १३ गतेदेखि जानकारी नगराई सम्पर्कविहीन भएका थिए ।

पाँचै जनाको नाममा ३० दिनभित्र सम्पर्कमा आउन सूचना जारी गर्दा पनि हाजिर हुन नआएपछि चि. वि. रा.प्र नियमावली, २०६५ को नियम १३३ (घ) बमोजिम सेवाबाट हटाइएको अस्पतालले जनाएको छ ।