फाइल तस्वीर
गुल्मी — गुल्मीको मुसिकोट नगरपालिका अन्तर्गत बढिघाट खोलामा निर्माणाधीन अवस्थामा भाँचिएर अलपत्र परेको पक्की पुलको निर्माण सुरु भएको छ । अलपत्र अवस्थामा परेको चार वर्षपछि निर्माण सुरु गरिएको हो ।

मुुसिकोट नगरपालिका(७ देखि मुसिकोटकै २, ३ र ४ नम्बर वडालाई जोड्ने उक्त पक्की पुल निर्माणकै क्रममा दुई पटकसम्म भाँचिएपछि अलपत्र अवस्थामा थियो । दुई पटकसम्म भाँचिएको पुल हाल डिजाइन परिवर्तन गरी नयाँ निर्माण व्यवसायी जलप नेपाल प्रालीले निर्माण सुरु गरेको हो ।

पुल स्वीस सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा रू दुई करोड ५० लाखमा निर्माण हुन लागेको हो । पुल निर्माणको लागि दुबैतिर फाउण्डेशनको काम पूरा भइसकेको हुँदा अहिले पुन निर्माण स्थलसम्म पुग्न सडक विस्तारको काम भइरहेको निर्माण व्यवसायी प्रतिनिधि अनिष पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार आगामी असोजसम्म पुल निर्माण सम्पन्न हुनेछ ।

पहिलो पटक २०७६ वैशाखमा निर्माण अन्तिम चरणमा पुग्दै गर्दा खोलामा बाँढी आएपछि पुलको टेका भासिँदा पुल भत्किएको थियो भने दोस्रो पटक पनि निर्माण सुरु भएको एक वर्षपछि सोही प्रकृति दोहोरिएका कारण पुनः पुल भाँचिएको थियो ।

पुलको निर्माण तत्कालै सुरु गर्न नगरपालिकाको तर्फबाट पटक(पटक सम्बन्धित निकायमा पहल गरेपछि काम सुरु हुन लागेको मुसिकोट नगरपालिका प्रमुख जीवन खरेलले बताउनुभयो । उहाँले ढिलै भए पनि काम सुरु हुन लागेको हुँदा यो पटक तोकिएकै मितिमा पुल निर्माण हुने कुरामा आफूहरु पूर्ण आशावादी रहेको बताउनुभयो ।

मुसिकोट नगरपालिकाको बढीगाढ खोलामाथि निर्माण हुन लागेको ट्रस बोर्डर प्रविधिमा आधारित उक्त पुलको लम्बाई ५५ मिटर रहेको छ । पुल निर्माणका लागि जलप नेपाल कम्पनीले निर्माणको जिम्मा पाएको छ । पुल निर्माण भएपछि मुसिकोट नगरपालिका लगायत छिमेकी बागलुङ जिल्लाका नागरिकलाई समेत सदरमुकाम तम्घास आवतजावतमा थप सहजता मिल्नेछ ।