प्रमिला यादव, फाइल तस्वीर
काठमाडौं — उपराष्ट्रपति पदका लागि उम्मेदवारी दिनुभएकी जनता समाजवादी पार्टी (जसपा) नेतृ प्रमिला यादवले आफ्नो उम्मेदवारी फिर्ता लिंदै गठबन्धनका साझा उम्मेदवारलाई समर्थन गर्ने बताउनुभएको छ । जसपा नेतृ यादवले आज सोमबार विज्ञप्ति जारी गर्दै जसपाकै अर्का उमेदवार रामसहायप्रसाद यादवलाई आफुले समर्थन गरेको बताउनुभएको हो ।
राष्ट्रियसभा सदस्य यादवले “मुलुकको सार्वभौमिकता, राष्ट्रिय स्वाधीनता, समावेशीता, संघीय लोकतान्त्रिक गणतन्त्र, सामाजिक न्याय र समाजवादप्रति निष्ठापूर्वक सधैँ समर्पित रहने शालीन स्वभावका, सादा जीवन, निष्कलंक एवम् स्वच्छ छवि र उच्च विचार भएका एक बौद्धिक एवम् परिपक्व नेता माननीय रामसहायप्रसाद यादव उपराष्ट्रपतिजस्तो गरिमामय पदका लागि सबैभन्दा उपयुक्त, योग्य र सक्षम उमेदवार हुनुहुन्छ,” विज्ञप्तिमा उल्लेख छ, “प्राविधिक रूपमा मेरो नाम उमेदवारको सूचीमा रहन गएको भएता पनि प्रतिबद्धताका साथ म वहाँलाई समर्थन गर्दै आफ्नो उमेदवारी फिर्ता लिएको घोषणा गर्दछु” भनि विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।
निर्वाचन आयोगले उपराष्ट्रपतिमा पुरुष उम्मेदवार हुन नपाउने भन्दै राजनीतिक दलहरुलाई महिला उम्मेदवार बनाउन निर्देशन दिएको थियो । उक्त निर्देशन पछि जसपाको तर्फबाट उपराष्ट्रपति पदका लागि दुई जनाले उम्मेदवारी दर्ता गराउनुभएको थियो । निर्वाचन अधिकृतको कार्यालयले एमालेकी उम्मेदवार अष्टलक्ष्मी शाक्यले जसवाको उम्मेदवार रामसहाय यादवको उम्मेदवारीविरुद्ध उजुरी दिएपछि सो उजुरीको छानविन गर्दै रामसहाय यादवको उम्मेदवारी खारेज नहुने निर्णय गरेको थियो । निर्वाचन अधिकृतको कार्यालयले निर्णयपछि प्रमिलाले आफ्नो उम्मेदवारी फिर्ता लिंदै रामसहाय यादवको समर्थनमा विज्ञप्ति नै निकाल्नु भएको हो ।
निर्वाचन अधिकृतको कार्यालयले उमेदवारी फिर्ताका लागि आइतबार अपराह्न ४ बजेसम्मको समय निर्धारण गरेको थियो । तर प्रमिलाको उम्मेदवारी आईतबार नै फिर्ता लिने तयारी गरिए पनि अन्तिममा फिर्ता नलिएका कारण आज उहाँले विज्ञप्तिमार्फत् आफ्नो उम्मेदवारी फिर्ता लिंदै पार्टीका अर्का उम्मेदवार रामसहाय यादवलाई समर्थन गर्नुभएको छ ।