माओवादी धारका नेताहरु, फाइल तस्वीर


काठमाडौं — माओवादी धारका नेताहरुले आवश्यक कानुन बनाइ शान्ति प्रक्रियाका बाँकी काम छिटोभन्दा छिटो पूरा गर्न सरकारलाई आग्रह गर्नुभएको छ । राजधानींमा आज आईतबार आयोजित संयुक्त पत्रकार सम्मेलनमार्फत संयुक्त अपिल जारी गर्दै माओवादी धारका नेताहरुले आवश्यक कानुनहरु बनाई अविलम्व शान्ति प्रक्रियाका बाँकी कामहरु पूरा गर्न सरकारलाई अपिल गर्नुभएको हो ।

विभिन्न चिरामा विभाजित माओवादी नेताहरुले सङ्गठित हुँदै विस्तृत शान्ति सम्झौता र नेपालको संविधानले द्वन्द्वकालीन घटनाहरुको निरुपण गर्ने जिम्मेवारी सत्य निरुपण तथा मेलमिलाप आयोगलाई दिएको भन्दै संवैधानिक व्यवस्थाभन्दा बाहिर जानु शान्ति सम्झौताविरुद्ध हुने बताउनुभएको छ ।

पत्रकार सम्मेलनपछि सरकारलाई अपिल गर्ने दलहरुमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी–माओवादी), नेपाल समाजवादी पार्टी, नेपाल कम्युनिष्ट पार्टी र आम जनता पार्टी रहेका छन् ।

त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी (बहुमत), वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी समाजवादी) र माओवादी कम्युनिष्ट पार्टी, नेपाल पनि रहेका छन् । एकीकृत रुपमा ती पार्टीहरुले कानुन परिमार्जनसहित आयोगलाई पूर्णता दिई शान्ति प्रक्रियाका बाँकी काम यथाशीघ्र पूरा गर्न सरकारसँग माग गरेका छन् ।

विस्तृत शान्ति सम्झौताका पक्षधर राजनीतिक दलहरु, नागरिक समाज एवम् आम समुदायलाई सङ्क्रमणकालीन न्यायको पक्षमा ऐक्यवद्धताका लागि अपिल गर्दै विगतमा राज्यले विभिन्न राजनीतिक दलहरुसँग गरेका सहमति कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन् ।