नेपाल निर्माण व्यवसायी महासङ्घको २४ औं साधारणसभालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री
काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकको अर्थतन्त्रको सूचकहरूमा सुधार ल्याउन ध्यान दिइरहेको बताउनभएको छ । आज आईतबार काठमाडौंमा आयोजित नेपाल निर्माण व्यवसायी महासङ्घको २४ औं साधारणसभाको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रको सूचकहरूमा सुधार ल्याउने भन्नेतर्फ सरकारले विशेष ध्यान दिइरहेको बताउनुभएको हो ।
प्रधानमन्त्री प्रचण्डले देशमा १० महिनाभन्दा बढीको वस्तु तथा सेवा आयात धान्न सक्ने वैदेशिक सञ्चिति रहेको भन्दै संङ्कटमा रहेको अर्थतन्त्र सुधारतर्फ गइरहेको उल्लेख गर्नुहुँदै अनावश्यक खालका चालु प्रकृतिका खर्च कटौती गर्दै सरकारको प्राथमिकता पुँजीगत खर्चलाई तीव्रता दिने दावीसमेत गर्नुभयो ।
त्यस्तै भौतिक पूर्वाधार मन्त्रालयलाई खर्च बढाउने, निर्माण व्यवसायीहरूका बाँकी रहेका भुक्तानीहरू समयमै भुक्तान गर्नेतर्फ पनि सरकारले ध्यान दिएको भन्नुहुँदै प्रधानमन्त्रीले बैंकको ब्याजदरलाई घटाउन पनि सरोकारवाला निकायसँग छलफल गरी आवश्यक निर्देशन दिएको जानकारी गराउनुभयो ।
प्रधानमन्त्री प्रचण्डले सार्वजनिक खरिद सम्बन्धी कानुन संशोधन गर्दा निर्माण व्यवसायीहरूको सहभागितालाई समेत सुनिश्चित गर्ने र उ कानुन उक्त कानुन संशोधन गर्दा अन्य सराकारवालालाई समेत समेट्ने बताउनुभयो । निर्माण व्यवसायीप्रति जनताको धेरै गुनासो रहेको हुँदा निर्माण व्यवसायीहरूले जिम्मा लिएका कामहरू जिम्मेवार र गम्भीर भएर समयमै काम सम्पन्न गरी जनताको गुनासोलाई सम्बोधन गर्न आग्रहसमेत गर्नुभएको छ ।