उपराष्ट्रपतिका प्रत्यासी, रामसहायप्रसाद यादव, फाइल तस्वीर
काठमाडौं — उपराष्ट्रपति पदका उम्मेदवार रामसहायप्रसाद यादवले पार्टीको बैठक बसेर अन्तिम उम्मेदवारको निर्णय गर्ने बताउनु भएको छ । आगामी चैत ३ गते हुने उपराष्ट्रपति चयन गर्ने निर्वाचनमा जनता समाजवादी पार्टी, नेपालको तर्फबाट दुई जनाले उम्मेदवारी दर्ता गराएको हुँदा अन्तिम उम्मेदवार कसलाई बनाउने भन्ने विषय पार्टीले निर्णय गर्ने यादवले बताउनु भएको हो ।
प्रतिनिधिसभा सदस्य यादवले आज संसद् भवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपराष्ट्रपतिको आधिकारिक उम्मेदवारको हुनेभन्ने विषयमा छिटै टुङ्गो लाग्ने बताउनुभयो ।
निर्वाचन अधिकृतको कार्यालयले यादवको उम्मेदवारी कायमै रहने निर्णय गरेसँगै उहाँले पार्टीका दुई जनाको उम्मेदवारी परेको हुँदा पार्टीको बैठकले अन्तिम टुङ्गो लगाउने र उपराष्ट्रपतिको आधिकारिक उम्मेदवार को हुने भनेर गठबन्धनको बैठकबाट नै टुङ्गिने बताउनुभयो ।
सञ्चारकर्मीसँग कुरा गर्दै उपराष्ट्रपतिका उम्मेदवार यादवले भन्नुभयो —‘पार्टीको तर्फबाट दुई जनाको उम्मेदवारी परेको छ । यो विषयमा पार्टीमा छलफल गरेर अघि बढ्छौं । त्यसपछि गठबन्धनको बैठकले आधिकारिक उम्मेदवारको तय गर्नेछ ।’
उपराष्ट्रपतिमा एमालेबाट अष्टलक्ष्मी शाक्यसहित चार जनाको उम्मेदवारी परेको छ । जसमध्ये जनमत पार्टीबाट ममता झा, जसपाबाट प्रमिला कुमारी र रामसहायपसाद यादवको उपराष्ट्रपति पदका लागि उम्मेदवारी परेको छ ।