उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादव, फाइल तस्वीर


काठमाडौं — उपराष्ट्रपतिका उम्मेदवार एमालेकी नेतृ अष्टलक्ष्मी शाक्यले आफ्नाविरुद्ध दिनुभएको उजुरीको खण्डन गर्दै निर्वाचन अधिकृतको कार्यालयमा अर्का उम्मेदवार रामसहायप्रसाद यादवले प्रष्टीकरण पेश गर्नुभएको छ । उपराष्ट्रपतिका उम्मेदवार यादवले आज आईतबार बिहान नयाँ बानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर आफ्नो उम्मेदवारी विरुद्धको उजुरीको लिखित जवाफ पेश गर्नुभएको हो ।

हिजो २७ गते शनिबार उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गरेपछि एमालेकी उम्मेदवार अष्टलक्ष्मी शाक्यले संविधानको भावना विपरित राष्ट्रपतिमा पुरुष उम्मेदवार निर्वाचित भएपछि उपराष्ट्रपतिमा महिला उम्मेदवार हुनुपर्ने र यादवको उम्मेदवारी संविधान विपरित भएको भन्दै दावी विरोध पेश गर्नुभएको थियो । शाक्यले लिनुभएको दावी विरोधको उजुरीको निर्वाचन अधिकृतको कार्यालयमा लिखित जवाफ दिंदै यादवले नेपालको संविधानको धारा ७० मा राष्ट्रपति र उपराष्ट्रपति फरक लिङ्ग वा समुदायको प्रतिनिधित्व गर्नुपर्ने भन्ने व्यवस्था रहेको र ‘वा’ भन्ने शब्दले विकल्प दिएकोले आफू उम्मेदवारको लागि योग्य भएको दावी पेश गर्नुभएको छ ।

संविधानको धारा ७० मा ‘यस संविधान बमोजिम राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फरक फरक लिंग वा समुदायको प्रतिनिधित्व हुने गरी गर्नु पर्नेछ’ भनि उल्लेख गरिएको छ ।
उपराष्ट्रपतिका उम्मेदवार यादवले संविधानको धारा ७०, राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन सम्बन्धी ऐनको दफा १६ को ५ मा भएको व्यवस्थाअनुसार आफू राष्ट्रपति निर्वाचित ब्यक्तिभन्दा फरक समुदायको मधेशी भएको भन्दै प्रस्टीकरण दिनुभएको छ ।

1

22

3