नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल, फाइल तस्वीर


काठमाडौं — नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले भोलि सोमबार राष्ट्रपति पदको शपथ ग्रहण गर्नुहुने भएको छ । महाराजगञ्जस्थित शीतल निवासमा रहेको राष्ट्रपति भवनमा आयोजना हुने विशेष समारोहमा भोलि दिउँसो प्रधानन्यायाधीशसमक्ष पौडेलले राष्ट्रपति पदको शपथ ग्रहण गर्नुहुने भएको हो ।

राष्ट्रपतिले प्रधानन्यायाधीशसँग शपथ लिने संवैधानिक व्यवस्था छ । नेपालको संविधान अनुसार राष्ट्रपतिको पदावधि पाँच वर्षको हुनेछ । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आजबाट सकिंदैछ । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले भोलि पद तथा गोपनीयताको शपथ ग्रहण लिएसँगै उहाँको औपचारिक पदावधि पनि भोलिबाटै सुरु हुनेछ । राष्ट्रपतिको कार्यकाय पाँच वर्षको हुनेछ ।

राष्ट्रपतिमा निर्वाचित पौडेल नेपालको तेस्रो राष्ट्रपति हुनुहुन्छ । तनहुँमा वि.सं. २००१ सालमा जन्मनुभएका पौडेल नेपाली काङ्ग्रेसका निष्ठावान र सालिन नेताको रुपमा लिइन्छ ।

गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा तनहुँ जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित ७८ वर्षीय पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि उक्त स्थानमा उपनिर्वाचन हुनेभएको छ ।

राष्ट्रपति कार्यालयले राष्ट्रपतिको शपथ ग्रहणको विशेष समारोहमा समाचार सङ्कलन तथा छायाङ्कनका लागि सञ्चार माध्यमहरुलाई सोमबार दिउँसो १ बजे आउन निमन्त्रणा गरेको छ ।