काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिन्धुलीमा आज बिहान भएको बस दुर्घटनामा परेकाहरूलाई तत्काल उद्धार गर्न निर्देशन दिनुभएको छ । सम्बन्धित निकायलाई निर्देशन दिँदै प्रधानमन्त्री प्रचण्डले उद्धार तथा घाइतेका उपचार प्रभावकारी बनाउन आग्रह गर्नुभएको हो ।

सामाजिक सञ्जालमा ट्वीट गर्दै प्रधानमन्त्रीले भन्नुभएको छ, ‘सिन्धुलीमा बस दुर्घटना भई ५ जनाको मृत्यु र दर्जनौं यात्रु घाइते भएको खबरले दुखी तुल्याएको छ । दुर्घटनाका मृतकहरूप्रति भावपूर्ण श्रद्धासुमन व्यक्त गर्दछु । घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासहित उद्दार कार्य प्रभावकारी बनाउन सम्बद्ध सबैमा निर्देशित गर्दछु, ।’

सिन्धुलीको फिकल गाउँपालिका–४ कुइभिरडाँडामा आज बिहान बस दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको थियो । ओखलढुङ्गाबाट काठमाडौँ आउँदै गरेको बा २ ख ६५९६ नम्बरको बस ‘ब्रेक’ फेल भएर दुर्घटना भएको हो । दुर्घटनामा १९ जना घाइते भएका छन् । उनीहरुको खुर्कोटस्थित अस्पतालमा उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।