एमाले अध्यक्ष खड्गप्रसाद शर्मा ओली, फाइल तस्वीर


काठमाडौं — पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले अरु पार्टीहरु क्षणिक दैनिक फोहोरी खेलमा लागेको आरोप लगाउनु भएको छ । पार्टी निकट खेलकुद महासंघका नवनिर्वाचित पदाधिकारीहरुको शपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले यस्तो अभिव्यक्ति दिनुभएको हो ।

अध्यक्ष ओलीले अरु पार्टीहरु जस्तो आफूहरु फोहोरी खेलमा सहभागी नहुने बताउँदै ‘हामी अरु पार्टीजस्तो क्षणिक दैनिक फोहारी खेलमा सामेल छैनौं, सामेल हुँदैनौं’ भनि दावी गर्नुभयो ।

अध्यक्ष ओलीले एमाले देश बनाउने म्याराथुन दौडमा रहेको भन्दै देश बनाएपछि मात्रै आफुले विश्राम लिने उल्लेख गर्नुभयो । एमाले लामो दौडको घोडा भएको भन्दै ओलीले ‘सिल्भर तातेजस्तो हामी तात्दैनौं, यसो ताप पायो तातिहाल्यो, भूईँमा राख्यो एकैछिनमा सेलाइहाल्यो, हामी अर्बौं वर्ष खरबौं वर्ष तातेपछि सूर्य तातेजस्तै जस्तो तात्नु पर्छ, एमाले त्यस्तै हो ।’ ओलीले छिटो पनि नगरी, हतार पनि नगरी, योजनावद्ध ढङ्गले अघि बढ्नु पर्नेमा जोड दिनुभयो ।