काठमाडौं — नागरिक उन्मुक्ति पार्टीले रञ्जिता श्रेष्ठ चौधरीलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । आज बिहान सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको पार्टीको सचिवालय बैठकले सो दलकी अध्यक्ष र संसदीय दलको नेता समेत रहनुभएकी रञ्जितालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

नागरिक उन्मुक्ति पार्टीका प्रमुख सचेतक गङ्गाराम चौधरी सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै दलको अध्यक्षलाई उपराष्ट्रपतिको उम्मेदवारमा अघि सार्ने निर्णय भएको जानकारी दिनुभयो । उहाँले पार्टी अध्यक्षलाई उपराष्ट्रपतिमा अघि सार्ने निर्णय भएको बताउँदै अब यहि निर्णयलाई लिएर राष्ट्रपति निर्वाचनका लागि बनेको गठबन्धनमा छलफल गरिने पनि बताउनुभयो ।

सत्ता गठबन्धनको तर्फबाट भने जसपाका नेता रामशहाय यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने कुरा आएको छ । उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गते हुँदैछ ।