काठमाडौं — श्री एयरलाइन्सले जहाजको इञ्जिन सुरक्षा जाँच नसकिएसम्म उडान गर्न नपाउने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले श्री एयरलाइन्सलाई जहाजको इञ्जिन सुरक्षा जाँच नसकिएसम्म उडान नगर्न निर्देशन दिएको हो ।
आजदेखि श्री एयरलाइन्सका जहाजले कुनै पनि उडान गर्ने छैनन् । जहाजको इञ्जिन सुरक्षा जाँचमा उडान भर्न योग्य भए÷नभएको परीक्षण गरी परीक्षणमा योग्य प्रमाणित भएपछि मात्र क्यानले उडान अनुमति दिनेछ ।
बिहीबार काठमाडौंबाट भैरहवा उडान भरेको जहाजको इञ्जिनमा आगो लागेको सङ्केत आएपछि जहाजलाई पुनः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल फर्काएर आकस्मिक अवतरण गरिएको थियो । काठमाडौं त्रिभुवन विमानस्थलमा सकुसल अवतरण गरिएको जहाजको चेकजाँच थालिएको बताइएको छ ।
हाल श्री एयरलाइन्ससँग आठवटा जहाज छन् । प्राधिकरणको अर्को निर्णय नभएसम्मका लागि श्री एयरलाइन्सका सबै जहाज ग्राउन्डेड हुनेछन् । जहाजको प्राविधिक र मेकानिकल परीक्षण गरेपछि उडान योग्य भए अनुमति दिने र नदेखिए नदिने प्राधिकरणको तयारी छ ।
