फाइल तस्वीर
काठमाडौं — नयाँ राष्ट्रपति चयनका लागि आज बिहीबार भएको निर्वाचनको मतदान सकिएको छ । तीन बजेसम्मका लागि मतदान गर्ने समयसीमा तोकिएको र सोही अवधिमा मतदान सकिएको हो ।

केहीबेर अघिमात्र सम्पन्न निर्वाचनको मतगणना ४ बजेपछि सुरुहुने निर्वाचन आयोगले जनाएको छ । राष्ट्रपति उम्मेदवारका प्रतिनिधिहरुसँग निर्वाचन आयोगले गरेको मतगणना सम्बन्धी बैठकमा दिउँसो ४ बजेदेखि मतगणना सुरु गर्ने सहमति भएको आयोगले बताएको छ ।

बैठकले मतपेटिका खोल्दा पत्रकारको उपस्थितिलाई पनि खुल्ला गर्ने निर्णय गरिएको । सम्बन्धित उम्मेद्बारको नाम लेखिएको कोठामा स्वस्तिक छाप लगाउनु पर्ने र त्यस बाहेकको मत सङ्केत प्रयोग भएकोमा सो बदर हुने निर्णय भएको छ ।

सङ्घीय संसद् र प्रदेशसभाको मतगणना अलगअलग स्थानमा हुनेछ । मतगणनामा उम्मेदवारका निर्वाचन प्रतिनिधि र एकएक जना गणना प्रतिनिधि राखिनेछ । उम्मेदवारका निर्वाचन प्रतिनिधिमा रामचन्द्र पौडेलको तर्फबाट सांसद् रमेश लेखक र सुबासचन्द्र नेम्वाङको तर्फबाट सांसद महेश बर्तौला प्रतिनिधि रहेकाछन् ।

नयाँ राष्ट्रपति चयनका लागि बिहीबार बिहान १० देखि दिउँसो ३ बजेसम्म नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा मतदान भएको हो । राष्ट्रपतिका लागि आठदलीय गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङ प्रतिस्पर्धामा छन् ।

मतगणनाको नतिजा आजै साँझसम्म सार्वजनिक हुनेछ । मतगणना पश्चात् विजयी उम्मेदवारलाई आजै प्रमाणपत्र वितरण गर्ने कार्यक्रम रहेको बताइएको छ ।