काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल गौरवपूर्ण र सफलतापूर्वक सम्पन्न भएको बताउनुभएको छ । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा अखिल नेपाल महिला सङ्घले बुधबार आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले राष्ट्रपति भण्डारीको कार्यकाल राष्ट्र र नेपाली महिलाहरुको लागि गर्वको विषय भएको बताउनुभएको हो ।

कार्यक्रममा बोल्दै ओलीले भोजपुरको गाउँमा जन्मिएर नेपालको प्रथम महिला राष्ट्रपति हुुनु सामान्य विषय नभएको बताउनुभयो । अध्यक्ष ओलीले भन्नुभयो, ‘आज महिला दिदीबहिनीहरुले गौरव गर्नुपर्दछ कि विद्या भण्डारीजस्तो महिला नेतृ, तपाईहरुको आन्दोलनबाट हुर्किएर गएको महिला नेतृले त्यस आन्दोलनको उपजले त्यहाँ पुगेको व्यक्तिले देशलाई ७ वर्षसम्म राष्ट्र प्रमुखको हैसियत भोजपुरको एउटा गाउँमा जन्मिएर गाउँको पाठशालाको शिक्षादिक्षाबाट आएर त्यस्ता ठाउँबाट आएर सङ्घर्ष गर्दै राष्ट्रपतिको जिम्मेवारी बहन गर्ने । र, त्यो जिम्मेवारी एकपटक मात्रै होइन । फेरि उहाँ जिद्धी गरेर यहाँ रहनै पर्छ भनेर होइन । अघिल्लो कार्यकालको उहाँको सफल, सही र उत्कृष्ट मर्यादित भूमिकालाई हेरेर दोस्रोपटक राष्ट्रपतिको जिम्मेवारी दिइएको हो ।’

पहिलो कार्यकालको सफल र मर्यादित भूमिकालाई हेरेर राष्ट्रपतिमा भण्डारीलाई दोहो¥याएको बताउँलै ओलीले, ‘राजनीतिक स्वार्थ प्रेरितहरुले आफ्नो सङ्कीर्ण स्वार्थमा ठेस लाग्दा वा पूरा नहुँदा राष्ट्रपतिको सम्मानित ओहदाको समेत मर्यादा नगरेर बकवास गरेका हुनसक्छन् । त्यसको खास अर्थ छैन’–भन्नुभयो ।

एमाले अध्यक्ष ओलीले भन्नुभयो, ‘पहिलोपटक सम्पूर्ण निर्वाचन मण्डल बनिसकेको थिएन । प्रदेशसभाहरु गठन भइसकेका थिएनन् । राष्ट्रियसभा गठन भइसकेको थिएन । त्यस्तो अवस्थामा व्यवस्थापिका संसदले नै राष्ट्रपति चयन गर्नुपरेको थियो । त्यो काम देखिसकेपछि, निर्वाचन मण्डल बनिसकेपछि, प्रदेशसभाहरु बनिसकेपछि उहाँलाई सिङ्गै देशले एक कार्यकाल छोटो भएपनि त्यसको अनुभवलाई हेरेर उहाँलाई राष्ट्रपति बनाएको थियो । यो हामी नेपालीहरुका लागि गौरवको विषय हो । यस आन्दोलनको नेतृ नेपालको इतिहासमा प्रथम महिला राष्ट्रपतिको उपमा पाउनुभएको छ । र, उहाँले सफलतापूर्वक कार्यकाल सम्पन्न गर्नुभएको छ । तपाईहरुले उहाँहरुको राष्ट्रपतित्वको रुपमा महिला मुक्ति जो प्रकाशन गर्नुभएको छ । अत्यन्तै प्रशंसनीय काम हो ।’

अध्यक्ष ओलीले महिलाहरु अब प्रधानमन्त्री पनि बन्न सक्ने भन्दै त्यसका लागि क्षमता विकास गर्नुपर्ने बताउनुभयो ।