काठमाडौं — नेपाल वायुसेवा निगमको एउटा जहाज सबैजना महिला चालक दलका सदस्यले उडाएका छन् । पाइलटद्वय भावना पन्त र कोपाइलट सिर्जना राउतले काठमाडौंबाट दुबई लगेको जहाज आज बुधबार फर्किँदा चालक दलका अन्य सदस्य पनि सबै महिला रहेका हुन् ।


दुईजना महिला विमान चालक (पाइलट) ले पहिलो अन्तर्राष्ट्रिय उडान गर्दै निगमको एयरबस ए–३२० जहाज शनिबार काठमाडौंबाट दुबई गएको थियो।

दुबईबाट काठमाडौंका लागि आज बिहान ४ बजेर ५५ मिनेटमा उडेको जहाजमा चालक दलका सबै सदस्य महिला रहेको निगगमले जनाएको छ । यो जहाज आज बुधबार बिहान १०ः३५ बजे काठमाडौंमा अवतरण भएको हो । दुईजना पाइलटसँगै यो जहाजमा एयरहोस्टेहरु पुरअन्जक महर्जन, सङ्गीता केसी, बास्ना राना र अनिशा प्रजापति थिए ।

आज मार्च ८ अर्थात अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा एयरबस सबै महिला चालक दलका सदस्यबाट उडाउने निर्णय लिएको थियो । निगमकी प्रवक्ता अर्चना खड्काले यो नेपालको अन्तर्राष्ट्रिय उडानमा सबैजना महिला चालक दलका सदस्य सहभागी पहिलो यात्रा भएको बताउनुभयो ।