दोहा भ्रमणपछि स्वदेश फिर्ता उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ
काठमाडौं — कतारको राजधानी दोहामा हालैसम्पन्न अतिकम विकसित राष्ट्र (एलसीडी) अन्तर्राष्ट्रिय सम्मेलनले ‘कोअर्डिनेसन व्युरो’को अध्यक्षको जिम्मेवारी नेपाललाई दिइएको छ । कतारको राजधानी दोहामा आयोजित अतिकम विकसित राष्ट्रहरुको पाँचौं अन्तर्राष्ट्रिय सम्मेलनले नेपाललाई कोअर्डिनेसन व्युरोको नेतृत्व प्रदान गरेको हो ।
मार्च ५ तारिखदेखि दोहामा सुरु भएको उक्त सम्मेलनमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले एक साता अघि त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । सम्मेलन सकिएसँग उपप्रधानमन्त्री श्रेष्ठ मङ्गलबार राति स्वदेश फर्किनुभएको छ ।
उक्तसम्मेलनमा उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री श्रेष्ठले दाता वा साझेदारहरूले अतिकम विकसित राष्ट्रहरूलाई माथि उठाउन के गर्नुपर्छ भन्नेबारे ठोस विषय उठान गर्नुभएको थियो । अतिकम विकसित, अल्प विकसित र भूपरिवेष्ठित राष्ट्रहरूले कोभिड महामारीपछिको स्थिति सम्हाल्न, जलवायु सङ्कटले पैदा गरेका चुनौतीको सामना गर्न, वित्तीय चुनौतीको सामना गर्न र अन्तर्राष्ट्रिय व्यापारीक प्रबन्धलाई सहज गर्न नयाँ ढङ्गले सोच्नुपर्नेमा सम्मेलनले जोड दिएको उपप्रधानमन्त्री श्रेष्ठले बताउनुभयो ।
कतारी सम्मेलनमा आगामी सन् २०२६ सम्ममा नेपालले अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा प्रवेश गर्ने प्रतिबद्धता दोहोर्याएको छ । त्यसका लागि संयुक्त राष्ट्रसङ्घ, त्यसका निकायहरू र सबै विकास साझेदारहरूले सघाउनुपर्नेमा जोडदिंदै सम्मेलनको पहिलो चरणमा पारित ‘दोहा प्रोग्राम अफ एक्सन’ले पनि यिनै मुद्दाहरूको कार्यान्वयनमा विशेष जोड दिएको नेपाली प्रतिनिधिमण्डलको नेतृत्वकर्ता उपप्रधानमन्त्री श्रेष्ठले बताउनुभयो ।
सम्मेलनको क्रममा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस, विभिन्न देशका नेता एवम् पदाधिकारीसँग उपप्रधानमन्त्री श्रेष्ठले छलफल गर्नुभएको थियो । त्यसक्रममा अबको नेतृत्वका रूपमा नेपालले अतिकम विकसित वा गरिब राष्ट्रहरूलाई सबैको हितका निम्ति गोलबन्द गर्ने विश्वास निर्माण गरेको उपप्रधानमन्त्री श्रेष्ठले उल्लेख गर्नुभयो ।
एलसीडीको अध्यक्षता पाएको नेपाललाई एक महिनापछि संयुक्त राष्ट्रसङ्घमा एक समारोहबीच सो को औपचारिक जिम्मेवारी हस्तान्तरण हुनेछ ।