काठमाडौं — पछिल्ला दिनमा मुस्ताङमा विश्वविद्यालय खोल्न सरकारले अनुमति दिएको भनेर गरिएको प्रचारमा सत्यता नभएको प्रधानमन्त्री दाहालको भनाइ थियो । प्रधानमन्त्रीले मुस्ताङको एक स्थानीय तहले विश्वविद्यालय नभई कलेज खोल्नका लागि आग्रह गरेको भन्ने आफूले थाहा पाएको भए पनि नेपाल सरकारको तर्फबाट कहीँकतै स्वीकृति नदिएको बताउनुभयो ।

मुस्ताङको चर्चा आउने बित्तिकै हामी सबै नेपाली संवेदनशील हुने गरेको उल्लेख गर्दै प्रधानमन्त्रीले त्यहाँ रहेको खनिजको उपयुक्त प्रयोग गरिए देशमा क्रान्तिकारी परिवर्तन ल्याउन सकिने बताउनुभयो । केही दिन पहिले नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले मुस्ताङमा बौद्ध विश्वविद्यालय खोल्न अनुमति दिएको आरोप लगाउनुभएको थियो ।

सरकारका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विश्वविद्यालय खोल्न कुनै निर्णय नभएको र त्यसको छानबिन गरिने बताउनुभएको थियो । प्रधानमन्त्रीले मुस्ताङमा मात्रै नभई देशका अन्य स्थानमा समेत महत्त्वपूर्ण खनिज पदार्थ रहेकाले त्यसलाई उपयुक्त रूपमा उपयोग गरिने प्रधानमन्त्रीको भनाइ छ ।

प्रधानमन्त्रीका रूपमा असफल हुने छुट आफूहरूलाई नभएको भन्दै उहाँले देश विकास र अर्थतन्त्रको सुधारका लागि सबै क्षेत्रको तागत लगाइने बताउनुभयो । आफूले अर्थतन्त्रको क्षेत्रमा देखा परेको समस्या समाधानका लागि पहलकदमी लिएको र केही दिनभित्रै नयाँ विश्वासका साथ देश सकारात्मक दिशामा अगाडि बढ्ने उल्लेख गर्नुभयो । निजी क्षेत्रका प्रतिनिधिमूलक सङ्घ संस्था, बैंक, वित्तीय संस्थाका प्रतिनिधि सबैलाई बोलाएर अर्थतन्त्रमा देखा परेको समस्या समाधानका लागि छलफल गरेको प्रधानमन्त्रीको भनाइ छ । उहाँले सबै तह तप्का र क्षेत्रको साझा प्रयासबाट मात्रै मुलुकका सामु देखा परेको समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।

सोलुखोला दूधकोसी जलविद्युत् आयोजना निजी क्षेत्रले निर्माण गरेको हालसम्मकै सबैभन्दा ठूला आयोजना हो । सो आयोजनाको क्षमता ८६ मेगावाट छ । साहस ऊर्जाका अध्यक्ष हिम पाठकले पाँच सय मेगावाटसम्मका जलाशययुक्त आयोजना स्वदेशी लगानीमा निर्माण गर्न सक्छौँ भन्ने अनुभव आफूहरूले प्राप्त गरेको बताउनुभयो ।

विनाशकारी भूकम्प, नाकाबन्दी, कोरोना महामारीलगायतका कारणले अपेक्षित समयमा पूरा हुन नसकेको भए पनि ठूला आयोजना निर्माण गर्न सकिन्छ भन्ने प्रमाणित भएको उहाँले जानकारी दिनुभयो । जलविद्युत् क्षेत्रको विकासको माध्यमबाट मात्रै समृद्धि प्राप्त हुने हुँदा विद्युत् खरिद बिक्रीको इजाजतपत्र प्रदान गरिदिन उहाँले प्रधानमन्त्रीसमक्ष आग्रह गर्नुभयो ।

आयोजनाको परीक्षण उत्पादन सम्पन्न भई हाल व्यावसायिक उत्पादन सुरु भएको छ । आयोजनाबाट उत्पादित बिजुली एक सय ३२ केभी क्षमताको सोलु करिडोर प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । आयोजना आफैँले १२ किलोमिटर लामो एक सय ३२ केभी क्षमताको प्रसारण लाइन निर्माण गरेको छ ।

कार्यक्रममा स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इपान)का अध्यक्ष कृष्णप्रसाद आचार्यले प्रकृतिले दिएको अथाह जलशक्तिको उपयोग गरेर आर्थिक समृद्धिको मार्ग प्रशस्त हुने बताउनुभयो ।

ऊर्जा क्षेत्रको विकासमा निजी क्षेत्रको प्रवेशपछि नै मुलुकको ऊर्जा क्षेत्रमा गुणात्मक परिवर्तन भएको भए पनि आयोजना निर्माणपूर्व सात मन्त्रालय र २१ विभाग पुग्नुपर्नेजस्ता समस्या रहेकाले त्यसको उचित सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

ऊर्जा क्षेत्रमा निजी क्षेत्रको लगानी अभिवृद्धि भइरहेको जानकारी दिँदै उहाँले विद्युत् प्रवर्द्धकले स्थानीयस्तरमा भोग्नुपरेको समस्या समाधान गर्न अनुरोध गर्नुभयो । अध्यक्ष आचार्यले बिजुलीको आन्तरिक खपत बढाउन तथा बाह्य मुलुकमा बिक्रीका लागि अनुमति दिन आग्रह गर्नुभयो ।

कार्यक्रममा पूर्वसचिव रामेश्वर खनाल र अर्थशास्त्री डा डिल्लीराज खनाललगायतलाई प्रधानमन्त्री दाहालले सम्मान गर्नुभएको थियो ।