प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड फाइल तस्वीर

काठमाडौं – प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्धको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । अदालतले माओवादी केन्द्रका अध्यक्षसमेत रहेका दाहाललाई पक्राउ गरी अनुसन्धानको माग गरिएको रिट दर्ता गरिएको हो ।

सर्वोच्च अदालतले २०७९ फागुन १९ गते शुक्रबार सर्वाेच्च अदालतका न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र हरि फूयालको इजलासले माओवादी केन्द्रका अध्यक्षविरुद्धको रिट निवेदन दर्ता गर्न आदेश दिएको थियो ।

आज दर्ता भएको रिटको पेशी आउँदो शुक्रबारका लागि तोकिएको छ । शुक्रबारको आदेशपछि मङ्गलबार रामेछापका ज्ञानेन्द्रराज आरणसहितले एउटा रिट र कल्याण बुढाथोकीसहितले अर्को रिट दर्ता गराएक हुन् ।

प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले तीन वर्षअघि २०७६ को माघीमा टुँडिखेलमा आयोजित कार्यक्रममा बोल्दै जनयुद्धमा मारिएका १७ हजारमध्ये मारिएका ५ हजारको जिम्मा आफूले लिने र बाँकीको जिम्मा सरकारले लिनुपर्छ भनी दिनुभएको अभिव्यक्तिको आधारमा उहाँमाथि फौजदारी अभियोगमा छानविन गरी कारवाही गर्न आदेश माग गर्दै सर्वोच्चमा रिट दिएका हुन् ।

यता, नेकपा माओवादी केन्द्रले माकेका अध्यक्ष प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा पेश भएको रिट निवेदन दर्ता गर्न आदेश दिएको प्रति आपत्ति जनाएको थियो । दश वर्षे जनयुद्ध, ६२÷६३ को आन्दोलन र त्यसको जगमा भएको बृहत शान्ति सम्झौता लगायतका विरुद्धमा हुने कुनै पनि गतिविधिलाई माओवादीले अस्वीकार गर्ने जनाएको थियो । २०६३ मङ्सिर ५ गते भएको वृहत्त शान्ति सम्झौताको बर्खिलाप हुनेगरी सर्वोच्चमा रिट दायर भएको भन्दै माओवादी आन्दोलनका नेताहरुले चर्को विरोध गरेका छन् ।