फाइल तस्वीर
काठमाडौं — पूर्वमाओवादीका नेताहरुको संयुक्त बैठक आज बस्दै छ । दश वर्षे सशस्त्र जनयुद्धमा सँगै सहभागी भएका माओवादी धारका पार्टीहरूको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो ।
प्रधानमन्त्री समेत रहनुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयका अनुसार अहिले बिहान साढे ८ बजेका लागि बैठक तय भएको छ । सो बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरण, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई, नेपाल कम्युनिस्ट पार्टी माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लव, नेकपा बहुमतका नेता धर्मेन्द्र बास्तोला र नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी लगायतका नेताहरु सहभागी हुने बताइएको छ ।
यसअघि शहीद तथा वेपत्ता योद्धा सन्तती फाउन्डेसनले आयोजना गरेको एक कार्यक्रममा सहभागी माओवादी धारका नेताहरुले माओवादीलाई हेप्न थालिएकाले एकजुट भएर प्रतिकार गर्नुपर्ने धारणा राख्दै माओवादी घटकहरू मिल्नुको विकल्प नभएको बताएका थिए । माओवादी धारका नेताहरुबीच सकेसम्म पार्टी एकता र त्यो तत्काल सम्भव नभए कार्यगत एकता गर्न पहल गर्दै आएका छन् । प्रधानमन्त्री समेत रहनुभएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आह्वान गर्नुभएको आजको बैठकमा पनि सोही विषयबारे छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।