काठमाडौं — नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ‘जनयुद्धकालीन’ मुद्धा अदालतले नभई सत्य निरूपण तथा मेलमिलाप आयोगले हेर्ने प्रष्टीकरण दिनुभएको छ । नेसपा अध्यक्ष भट्टराईले सामाजिक सञ्जालमार्फत ट्वीट गर्दै प्रधानमन्त्रीलाई मुद्धा लगाउन पाइने भएपनि त्यो काम अदालतको नभएको उल्लेख गर्नुभएको हो ।

आइतबार राजधानीमा आयोजित एक अन्तक्रिया कार्यक्रममा बोल्दै डा.भट्टराईले प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वोच्चमा मुद्दा हालेर जिस्काउन खोजिएको टिप्पणी गर्नुभएको थियो । सो टिप्पणीपछि सामाजिक सञ्जालमा आएका आलोचनालाई सम्बोधन गर्नेगरी पूर्वप्रधानमन्त्री भट्टराईले सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिनुभएको हो ।

‘सानो स्पष्टीकरण–बहालवाला प्रमलाई मुद्दा लगाउनै पाइन्न भनेको हैन ! मज्जाले पाइन्छ ! म आफै प्रम छँदा थुप्रै मु्द्दा खेपेको छु,’ भट्टराईले सामाजिक सञ्जालमार्फत् ट्वीट गर्दै लेख्नुभएको छ,‘अदालतमा हाजिर भएको छु ! तर शान्तिसम्झौता अनुसार जनयुद्धकालीन मुद्दा TRCले हेर्ने हो, नियमित अदालतले हैन !’

आवेग भन्दापनि विवेकले काम गर्न अनुरोध गर्दै भट्टराईले प्रधानमन्त्री प्रचण्डको हकमा पनि सोही प्रक्रिया लागू हुने उल्लेख गर्नुभएको छ । उहाँले भन्नुभएको छ, ‘प्रम प्रचण्डको हकमा पनि त्यही हो ! आवेग हैन विवेकले काम गरौं !’