फाइल तस्वीर
धनगढी — सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले जारी प्रदेशसभा बैठकमा विश्वासको मत माग्नुभएको छ । मुख्यमन्त्री शाहले सुदूरपश्चिम प्रदेशसभामा आज आईतबार दिउँसो सुरुभएको बैठकमा विश्वासको मत माग्नुभएको हो ।

यस अघि एमालेबाट मुख्यमन्त्री राजेन्द्रसिंह रावलले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि रावल पदमुक्त हुनुभएको थियो । पदमुक्तभए पछि सुदूरपश्चिन प्रदेशको मु्ख्यमन्त्रीको जिम्मेवारी नेपाली काङ्ग्रेसका सांसद कमलबहादुर शाहले पाउनु भएको हो । एमालेलाई नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि ठुलो दलको हैसियतमा काङ्ग्रेसका शाहलाई २६ माघमा प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।

मुख्यमन्त्री शाहले आज सभाबाट विश्वासको मत पाउने निश्चित प्राय छ । उहाँलाई नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र सांसदले विश्वासको मत दिनेभएका छन् । एमालेले भने प्रतिपक्षमा बस्ने निर्णय गरेकोछ ।

मुख्यमन्त्री शाहले काङ्ग्रेसका १९, माओवादी केन्द्रका १० (सभामुख बाहेक), नाउपार्टीका ७, एकीकृत समाजवादीका ४ र स्वतन्त्र १ गरी ४१ जना सांसदले विश्वासको मत दिने छन् । राप्रपाका १ जनामात्र सांसदले मुख्यमन्त्री शाहलाई विश्वासको मत दिने नदिनेमा खुलाएको छैन । मुख्यमन्त्री शाहलाई विश्वासको मत लिन २७ जना सांसदको मत आवश्यक पर्दछ ।