फाइल तस्वीर
काठमाडौ — नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र एमालेका महासचिव शरङ्क पोखरेलबीच वार्ता भएको छ । दुई कम्युनिस्ट घटकबीच पार्टी एकता गर्ने सम्बन्धमा नेता खनाल र महासचिव पोखरेलबीच भेटवार्ता भएको हो ।

एमाले महासचिव पोखरेल एसका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री खनाललाई भेट्न खनालको निजी निवास डल्लु पुग्नुभएको छ । उहाँहरुबीच भएको भेटमा पार्टी एकताको प्रस्ताव गरिएको छ । महासचिव पोखरेलले ‘देश राजनीतिक र आर्थिक रुपले गम्भीर सङ्कटमा पुगेकोले वामपन्थी दलहरुबीचको सहकार्य गर्दै पार्टी एकतामा लाग्नुपर्छ’ भनि खनालसँग प्रस्ताव गर्नुभएको छ । एमाले नेता पोखरेलको प्रस्तावप्रति नेता खनालले आफु सकारात्मक रहेको जवाफ दिनुभएको खनालको निजी सचिवालयले बताएको छ ।

दुई कम्युनिस्ट पार्टीका नेताहरुबीच देशको विग्रंदो राजनीति र आर्थिक अवस्थाका साथै समसामयिक विषयमा कुराकानी भएको बताइएको छ । पछिल्लो समय राजनीतिक समीकरण फेरिएसँगै एमाले र एकीकृत समाजवादीका नेताहरुबीचको भेटवार्ता बाक्लिएको छ । यी दुई पार्टीका नेताहरुबीचको भेटघाटमा एमालेले एकतालाई विशेष जोड दिंदै आएको छ ।

एमालेले एकीकृत समाजवादीसँग एकता गरेर संसदको सबैभन्दा ठूलो दल बन्ने र आठ दलीय गठबन्धनलाई फुटाएर आफ्नो नेतृत्वमा सरकार बनाउने रणनीतिक योजना बनाएको छ । यसले राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपालाई साथ लिएर विश्वासको मत प्राप्त गर्ने आधार खोज्नेछ ।

सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई संसद्मा फेल गराई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नैतिकताको आधारमा प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्ने अवस्थामा पुर्याउने र एमालेले अल्पमतको सरकार बनाउने डिजाइनकासाथ एकीकृत समाजवादीसँगको सम्बन्ध सुधार गर्दै पार्टी एकता गर्न जोड दिंदै आएको छ ।

संविधानको धारा ७६ को उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा राष्ट्रपतिले प्रतिनिधिसभामा सबैभन्दा बडी सदस्यहरु भएको दलको संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेछ भनि उल्लेख गरिएको छ । एमालेले सोही धाराको सपना देख्दै एससँग निकटता बढाउँदै पार्टी एकताको प्रयास गरिरहेको छ ।