महेन्द्रनगर — कञ्चनपुरको महेन्द्रनगरमा रुपालवासीको परम्परागत रुपाली होलीले रौनकता छाएको छ । फागू पुर्णिमाको तीन दिनअघि देखि सुरु भएको रुपाली होली कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ निम्बुखेडा र १८ गोवरीयामा भव्य रुपमा एकादशीदेखि सुरु भएको हो ।

दशकौँदेखि सुदूरपश्चिममा समुदाय विशेषले मनाउने रुपाली होलीको रौनक बढेको निम्बुखेडा रुपाली होली समाजका अध्यक्ष डम्बरदत्त भट्टले जानकारी दिनुभयो । रुपाल सुदूरपश्चिमको पहाडी जिल्ला डडेल्धुराको भागेश्वर गाउँपालिकामा पर्ने गाउँ हो । सो बसोबास गर्ने नागरिकलाई ‘रुपालवासी’ भनेर स्थानीय भाषामा चिनिन्छ ।

डडेल्धुराको रुपालदेखि बसाइसरी कञ्चनपुरको महेन्द्रनगर र आसपासका क्षेत्रमा आएका रुपाली समुदायले तराईझरेयता नियमित रुपमा पम्परागत होलीलाई निरन्तरता दिदै आएका छन् । ‘रुबालीहरु बीचको एकता र रङ्गिन पर्वसँग जोडिएको होलीका आफ्नै पम्परागत मान्यता छन्’, अध्यक्ष भट्टले भन्नुभयो, ‘हाम्रो नयाँ पुस्ताले पनि यसलाई आत्मसात गर्दै अघि बढेको छ ।’

वसन्त ऋतु र नयाँ वर्षको पूर्वसन्ध्यामा रङ्गीन पर्व होलीको उल्लास बढिरहेका बेला रुपाली होलीको ४७ पुस्ताभन्दा बढी लामो इतिहास सुदूरपश्चिममा छ । ‘सुदूरपश्चिममा मात्रै समुदायपिच्छे होली खेल्ने र मनाउने धेरै तौर तरिकाहरु छन’, भट्टले भन्नुभयो, ‘रुपाली होलीको आफ्नो छुट्टै विशिष्ट पहिचान छ ।’

परम्परागत शैलीमा खेलिने होली रुपाली समुदायका हरेक उमेर समूहका मानिसक गोलबद्ध भएर देउडा शैलीमा खेल्ने र्गछन् । हरेक उमेर समूहका युवा–युवती, महिला पुरुष तथा बालबालिका होली धुमाधामका साथ मनाइरहेका बेला डडेल्धुराको तत्कालीन रुपाल गाविसका मानिस तराईमा झरेको पाँच दशक पुग्दा पनि आफ्नो परम्परागत होलीलाई निरन्तरता दिइरहेका छन् ।

‘होलीबाट जम्मा भएको पैसाले मन्दिरका लागि भाडा खरिद गर्ने योजना छ’, भट्टले भन्नुभयो, ‘भाँडाकुडा विवाह, व्रतलगायत बेला आर्थिक अवस्था कमजोर भएका नागरिकलाई निःशुल्क रुपमा काम चलाउन दिन्छौँ ।’ रुपाली होली धार्मिक मान्यतालाई कायम राख्दै आफ्नै पहाडिया शैलीमा परम्परागत भाकामा गाएर होली मनाइन्छ । 

रुपाल होली समितिले वर्ष एकादशमीका दिनदेखि प्रसिद्ध बैजनाथ मन्दिरबाट सुरु गरिने होली पुर्णिमाका दिन सोही मन्दिरमा गएर समापन गर्ने चलन छ । ‘निम्बुखेडाको शिव गौरा मन्दिर र गोवरियामा बैजनाथ मन्दिरबाट एकसाथ होली सुरु भएको छ’, रुपाली समुदायका अगुवा तथगा कञ्चनपुर होटल व्यवसायी सङ्घ वरिष्ठ उपाध्यक्ष केशव जोराले भन्नुभयो, ‘जागिर र अन्य सिलसिलामा विभिन्न ठाउँमा छरिएर रहेका रुपाली होली पर्वमा झमघट हुने हुनाले होली पर्वलार्ई एउटा भेटघाटको पर्व पनि लिन्छौँ ।’

होली खेलेर प्राप्त रकम विभिन्न विकास निर्माण तथा धार्मिक निर्माणमा खर्च गर्ने गरिएको छ । होलीका गीतको माध्यमबाट विभिन्न धार्मिक भजन गाएर पनि रुपाली रमाइलो गर्ने गर्ने प्रचलन छ । त्यसका साथै ‘फगुवा’हरुलाई हरेक रुपालीको घरमा विशेष सम्मान दिइने गरेको छ । होलीबाट सङ्कलित रकमले मन्दिर निर्माणलगायत सामाजिक कार्यमा खर्च गरिने जोराको भनाइ छ ।

‘जसको घरमा बिहे र सन्तान भएको उसले फगुवालाई होलीका मौकामा विशेष भोजन गराउने चलन छ’, जोरा भन्नुभयो, ‘यो एउटा पम्पराको निरन्तरता पनि हो ।’ डडेल्धुराको रुपालबाट विसं २०१७ देखि तराईमा बसाइसराई गर्ने क्रम सुरु रुपाली अगुवाको भनाइ छ ।

हरेक वर्ष फागू पुर्णिमामा मनाइने होलीले आध्यात्मिक, सांस्कृतिक, सामाजिक र मनोवैज्ञानिक महत्व बोकेको छ । ‘पुस्ताँैदेखिको होलीमा अहिलेका युवा पिँढीको उपस्थिति पनि उल्लेख छ’, जोराले भन्नुभयो, ‘होलीलाई निरन्तरता र संरक्षणका लागि रुपाली समाज सक्रिय छ ।’रासस