फाइल तस्वीर

काठमाडौं — तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धमा सहिद तथा बेपत्ता पारिएका परिवारका सन्ततिहरूले शीर्ष नेताहरू बोलाएर आज अन्तरक्रिया गर्ने भएका छन् । सहिद र बेपत्ता परिवारका सन्ततिहरूले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ सहित शीर्ष नेताहरूलाई बोलाएर कार्यक्रम गर्न लागेका हुन् ।

सहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसनले प्रचण्डसहित सम्पूर्ण विभाजित माओवादी नेताहरूलाई बोलाएर अन्तरक्रिया गर्न लागेका हुन् । सहिद सप्ताहको अन्तिम दिन पारेर आज काठमाडौंको प्रज्ञाभवनस्थित कमलादीमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको फाउन्डेसनका अध्यक्ष सन्दीप पुनले बताउनुभयो । प्रधानमन्त्री प्रचण्डसहित ६ पूर्व माओवादीका नेताहरूले आउन बचन दिएको पनि अध्यक्ष पुनले जानकारी दिनुभयो । ‘तत्कालीन जनयुद्धमा सहिद तथा बेपत्ता पारिएका सबै सन्ततिहरूको नाममा संस्था बनाएका छौँ । जनयुद्धमा सहभागी भएका सबै शीर्ष नेताहरूलाई बोलाएको छ’ पुनले भन्नुभयो, ‘सबै शीर्ष नेताहरूलाई एउटै ठाउँमा बोलाएर सहिद तथा बेपत्ता पारिवाको तर्फबाट आफ्नो कुरा राख्ने तयारी गरेका छौँ ।’

कार्यक्रममा सहिद तथा बेपत्ता पारिएका परिवारको सपना पूरा गराउन घचघच्याइने पनि पुनले बताउनुभयो । सो कार्यक्रममा प्रचण्डसहित नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य, नेपाल समाजवादीका अध्यक्ष बाबुराम भट्टराई, नेकपा महासचिव विप्लव, नेकपा बहुमतका अध्यक्ष धर्मेन्द्र बास्तोला, नेकपा समाजवादी माओवादीका अध्यक्ष कर्णजीत बुढालाई बोलाइएको छ ।