फाइल तस्वीर
धनगढी – सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशसभा बैठकबाट आज विश्वासको मत लिनुहुने भएकाले नेकपा माओवादी केन्द्रका सांसदहरुलाई मु्ख्यमन्त्री शाहको पक्षमा मतदान गर्न निर्देशन दिइएको छ । प्रधानमन्त्रीसमेत रहनु भएका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मु्ख्यमन्त्रीको पक्षमा मतदिन आफ्ना पार्टीका सांसदहरुलाई निर्देशन दिनुभएको हो ।

मुख्यमन्त्री शाहलाई यथास्थितिमा विश्वासको मत दिन नसकिने निष्कर्षमा पुगेको माओवादी केन्द्रले अन्ततः विश्वासको मत दिनेभएको हो । माओवादी केन्द्रको प्रदेश संसदीय दलको हिजो शनिवार बसेको बैठकले नेतृत्वसहित शक्ति बाँडफाँटको सहमति प्याकेजमै हुनुपर्ने निष्कर्ष निकालेको थियो । सो निर्णयको जानकारीसहित निर्देशन आउने गरी पार्टी अध्यक्ष प्रचण्डलाई पत्राचार गरिएको थियो ।

पत्रको जवाफमा पार्टी अध्यक्ष प्रचण्डले काङ्ग्रेस नेतृत्वको प्रदेश सरकारलाई सहयोग गर्न निर्देशन दिनुभएको माओवादी केन्द्रका एक प्रभावशाली नेताले जानकारी दिनुभयो । उक्त प्रदेशमा माओवादी केन्द्रले अझैसम्म नेतृत्व र मन्त्रालय बाँडफाँटको विषय टुङ्गो नलागेको बताइएको छ । सो विषयमा टुङ्गो लगाउन काङ्ग्रेस र माओवादी केन्द्रको संसदीय दलको बैठक अहिले बस्दै छ । माओवादी केन्द्रले प्रदेश सरकारको नेतृत्व आलोपालो गर्न पाउनुपर्ने माग राख्दै आएको छ ।

निर्वाचनताका काङ्ग्रेस सभापति शेरबहादुर देउवाले डडेलधुरा १ बाट निर्वाचित प्रदेशसभा सदस्यसमेत रहेका माओवादी प्रदेश इन्चार्ज खगराज भट्टलाई मुख्यमन्त्री बनाउने आश्वासन दिनुभएको थियो । सोही आश्वासन पूरा गर्न माओवादीले सो माग अघि सारेको हो । मुख्यमन्त्री शाहले आज दिउँसो १ बजे विश्वासको मत लिनुहुने कार्यक्रम रहेको छ । त्यसअघि नै माओवादी केन्द्रले मु्ख्यमन्त्रीको पक्कापक्की गर्ने र मु्ख्यमन्त्री शाहीको नेतृत्वको सरकारमा जान मन्त्रालयको टुङ्गो लगाउने भएको बताइएको छ ।

कुल ५३ सिट सङ्ख्या रहेको सुदूरपश्चिम प्रदेशसभामा नेपाली काङ्ग्रेसको १९, माओवादी केन्द्रको सभामुखसहित ११, नागरिक उन्मुक्ति पार्टीको ७, एकीकृत समाजवादीको ४, राप्रपा र स्वतन्त्र १/१ जना सांसदरहेका छन् । सरकारलाई विश्वासको मतको लागि २७ जना सांसदको साथ चाहिन्छ । यता उपसभामुख सहित १० सिट रहेको एमालेले मु्ख्यमन्त्री शाहलाई विश्वासको मत नदिने निर्णय गरेको छ । यता उपसभामुख सहित १० सिट रहेको एमालेले मुयमन्त्री शाहलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।