सुदूरपश्चिम— सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले आज आइतबार विश्वासको मत लिने हुनुभएका छ । मत लिनेबारे मुख्यमन्त्री शाहले शुक्रबार नै प्रदेश सभालाई पत्र पठाएर आज विश्वासको मत लिने हुनुभएको हो ।

उहाँले पठाउनुभएको पत्र अनुसार आज आइतबार दिउँसो १ बजेका लागि प्रदेशसभा बैठक आह्वान गर्ने तयारी भइरहेको प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैसीले जानकारी दिनुभयो । ‘मुख्यमन्त्रीज्यूले २१ गते विश्वासको मत प्रयोजनका लागि आवश्यक व्यवस्थापन गरिदिन भनेर सचिवालयलाई पत्राचार गर्नुभएको छ,’ प्रदेश सभामुख भीमबहादुर भण्डारीले भन्नुभयो, ‘त्यसै अनुसार तयारी गर्न सचिवालयलाई निर्देशन दिइसकेको छु ।’

तर, मुखयमन्त्री शाहले विश्वासको मत पाउने भने निश्चित छैन । केन्द्रमा काङ्ग्रेस, माओवादी, नागरिक उन्मुक्तिलगायत दलको समीकरण बने पनि प्रदेशमा भने माओवादी र नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने निर्णय गरेका छन् । शाहलाई विश्वासको मत दिन दुई पार्टीले सर्त राखेपछि पुनः अन्योलता सिर्जना भएको छ ।

माओवादी केन्द्रले यथास्थितिमा मत दिन नसक्ने भन्दै केन्द्रीय कार्यालय, पेरिसडाँडालाई खबर गरेको छ भने उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठले दलीय सहमतिको लिखित हस्ताक्षर बिना विश्वासको मत दिन नसकिने भन्ने प्रस्ट पार्नुभएको छ । दुवै पार्टीले मन्त्रालय भागबण्डामा काङ्ग्रेस अनुदार देखिएको भन्दै तत्काल मत दिन नसकिने जनाएका हुन् ।

५३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि २७ मत आवश्यक पर्छ । सुदूरपश्चिममा काङ्ग्रेसका १९, माओवादीका सभामुखबाहेक १०,एमालेका १०, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४ र राप्रपा र स्वतन्त्र १÷१ सदस्य रहेका छ्न् ।

यसअघि गठबन्धनबाट नेकपा एमालेका राजेन्द्र सिंह रावल मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । रावलले तोकेको समयमा विश्वासको मत नपाएपछि ठूलो दलको हैसियतमा काङ्ग्रेसका शाह मुख्यमन्त्रीमा नियुक्त हुनभएको थियो ।