काठमाडौं – राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले आज काठमाडौँमा प्रदर्शन गर्ने भएको छ । व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको महाअभियानले काठमाडौंको नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन अगाडि प्रदर्शन गर्न लागेको हो ।
पूर्व राजा ज्ञानेन्द्र शाहलाई उपस्थित गराई झापाबाट सुरु भएको अभियानले बुटवल हुँदै देशका विभिन्न सहरमा प्रदर्शन गरिसकेको छ । सो महाअभियानले आर्थिक अन्याय र बेथितिविरुद्ध काठमाडौँमा पनि प्रदर्शन गर्न लागेको प्रसाईँले जानकारी दिएका छन् ।
राजधानीको बानेश्वरमा हुने प्रदर्शनमा नेपाललाई हिन्दुराष्ट्र कायम गरिनुपर्ने, सङ्घीयता खारेज गर्नुपर्ने, बैंकको ब्याजदर घटाउनुपर्ने, २० लाखसम्मको ऋण मिनाहा गर्नुपर्ने लगायतका १३ बुँदे माग महाअभियानको छ ।