काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी एमालेले राष्ट्रपति निर्वाचनमा आफ्ना उम्मेदवारको पक्षमा मतदान गर्न जनमत पार्टीसँग आग्रह गरेको छ । आज शुक्रबार जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतसँग भेट गर्दै एमालेबाट राष्ट्रपति उम्मेदवार सुवास नेम्वाङ लगायतका नेताहरूले राष्ट्रपति निर्वाचनमा सहयोग गर्न आग्रह गरेका हुन् ।

छलफलपछि एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङका अनुसार राष्ट्रपति निर्वाचनमा एमालेका उम्मेदवारका बारेमा जानकारी गराएको र मत दिन आग्रह गरिएको बताउनुभयो । अहिलेको राष्ट्रिय राजनीतिमा जनमत पार्टी पनि महत्वपूर्ण पार्टी रहेकाले सहयोगका लागि आग्रह गरिएको उहाँले बताउनुभयो ।

त्यस्तै जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके) राउतले पार्टीमा छलफल गरेर जवाफ दिने बताउनुभएको छ । राष्ट्रपतिको निर्वाचन नजिकिँदै जाँदा एमालेले विभिन्न दलसँग भेटेर आफ्नो पक्षमा मत मागिरहेको छ ।