काठमाडौं — प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले आफूले राज्यबाट पाउनुपर्ने सेवा, सुविधा नपाएको भन्दै गुनासो पोख्नुभएको छ । भ्रष्टाचारविरुद्ध सांसदहरूको विश्वव्यापी सङ्गठन, नेपाल च्याप्टरले आज शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उपसभामुख रानाले राज्यको माथिल्लो निकायमा भ्रष्ट आचारण रहेकै कारण आफूलाई सेवा, सुविधा दिने कुरामा पनि विभेद र अन्याय भएको बताउनुभएको हो ।

पुरुष उपसभामुख हुँदा पाउने सुविधा अहिले आफूले नपाएको भन्दै रानाले यस्ता गतिविधि सहन गर्न नसकिने बताउनुभयो । उपसभामुख रानाले आफूलाई निवासको सुविधा दिने कुरामा पनि राज्य गम्भीर नभएको आरोप लगाउनुभयो ।

‘सांसद हुँदा त मैले त्यति वास्ता गरिनँ । तर, उपसभामुख भएको मेरो अहिले एक महिना भयो । मेरो अधिकार, काम, कर्तव्य खोज्दै गएँ । मेरो सुविधा पनि खोज्दै जाँदाखेरी थुप्रै सुविधाहरू रहेछ,’ उपसभामुख रानाले भन्नुभयो, ’अनि यो भ्रष्टचाहिँ कस्तो भने पुरुषले महिलालाई गर्ने, ठूलो पार्टीले सानो पार्टीलाई गर्ने, त्यो भ्रष्टाचार होइन र ? कस्तो लाग्छ ? तपाईंहरूलाई ।’

’यहाँ ठूलो जसको पहुँच छ, उसलाई तुरुन्त सबैथोक हुने । म अन्याय र विभेद सहन नसक्ने मान्छे । म सानो भूइँमान्छे हो । म सांसद मात्रै हुँदा म नर्मल ठाउँबाट जान्थेँ । भीआईपीको सुविधा प्रयोग गर्दिन भन्थेँ,’ रानाले भन्नुभयो, ’पहिला पुरुष उपसभामुख हुँदा खेरीचाहिँ आर्मी दिन्थ्यो रे । उहाँहरूलाईचाहिँ मन्त्रीसरह सुविधा हुन्थ्यो रे । उपसभामुखलाई घर दिने रे भनिएको छ । दिइएको छैन । ३६ हजार निवास भाडा दिइएको छ । आफू ४४ हजार तिरेर बस्नु परेको छ ।’
उपसभामुख रानाले आफू सानो पार्टीबाट आएकाले राज्यबाट पाउने सेवा, सुविधामा विभेद गरेको हुन सक्ने बताउनुभयो ।