काठमाडौं — गायक आशिष ताम्राकारको निधन भएको छ । कलेजो, मिर्गौलालगायतका समस्याबाट पीडित गायक ताम्राकारको त्रिवि शिक्षण (टिचिङ) अस्पताल (महाराजगञ्ज) मा उपचारका क्रममा आज शुक्रबार बिहान ७ः२५ बजे निधन भएको हो ।
दुई/तीन हप्तादेखि बिरामी ताम्राकारलाई केही समय अल्का अस्पतालमा उपचार गरेर टिचिङ अस्पताल लगिएको थियो । २०३५ जेठ ७ गते जन्मिएका गायक ताम्राकारका आखिर, प्रेमपत्रलगायत एल्बम सार्वजनिक भएका छन् । उनका ‘प्रेमपत्र लेख्दै पातपातमा, मलाई पनि सँगै लैजाऊ, एक्लै रुनु कति रुनु, बिहानीको घाम हौ कि’ लगायतका दर्जनौं गीत चर्चित छन् ।
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल घर भएका ताम्राकार काठमाडौं सिनामङ्गलमा परिवारसहित बस्थे । उनका श्रीमती र दुई छोरी छन् । ताम्राकारको दाहसंस्कार पशुपति आर्यघाटमा गर्ने तयारी भएकोे बताइएको छ ।