प्रधानमन्त्री प्रचण्ड, फाइल तस्वीर
काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल आयुर्वेद क्षेत्रको प्राकृतिक भूमि भएको बताउनुभएको छ । प्रधानमन्त्री प्रचण्डले शुक्रबारदेखि राजधानीमा सुरु भएको सातौं अन्तर्राष्ट्रिय आयुर्वेद महासभालाई सम्बोधन गर्दै आयुर्वेदका लागि नेपाल सही र उचित गन्तव्यस्थल भएको उल्लेख गर्नुभएको हो ।
प्रधानमन्त्री प्रचण्डले आयुर्वेदलाई प्राथमिकताका साथ अघि बढ्न नेपाल सरकार प्रतिबद्ध रहेको बताउँदै ‘आयुर्वेदलाई प्राथमिकताका साथ अघि बढ्न नेपाल सरकार प्रतिवद्ध छ। नेपाल आयुर्वेद क्षेत्रको प्राकृतिक भूमि हो । नेपालमा विभिन्न प्रकारका प्राकृतिक औषधीहरू पाइन्छन् । सिंहदरबारस्थित वैद्यखानाबाट पनि हामीले आयुर्वेदलाई मुख्य प्राथमिकतामा राखेर काम गरिरहेका छौं । आयुर्वेद अस्पतालका लागि औषधीहरूको मुख्य थलोको रूपमा नेपाललाई भारतले राखेको छ। अझै यसलाई हामीले प्रचारप्रसार गर्न आवश्यक छ। तर पछिल्लो समय जलवायु परिवर्तनका कारण यसमा असर परिरहेको छ। यसलाई हामीले न्युनीकरण गर्दै जानुपर्छ’– भन्नुभयो ।
प्रधानमन्त्री प्रचण्डले सातौं अन्तर्राष्ट्रिय आयुर्वेद महासभाको उद्घाटनका क्रममा जलवायु परिवर्तनलाई पनि मध्यनजर गरेर छलफल र त्यसलाई न्युनीकरण गर्ने कुरामा महासभाले विशेष छलफल समेत गर्नेमा आफु विश्वस्त रहेको बताउनुभएको छ ।