तार हटाउने अभियानमा महानगरीय प्रहरी, तस्वीर
पाटन — ललितपुर महानगरपालिकाले सडकका पोलमा रहेका इन्टरनेटका तार काट्न सुरु गरेको छ । महानगरको ऐतिहासिक र धार्मिक क्षेत्र कुरुप भएपछि इन्टरनेटको तार हटाउने काम सुरु गरिएको हो ।
शरहबजारलाई कुरुप बनाउने गरी छरपस्ट रुपमा देखिने यस्ता तारहरु काट्न सुरु गरेको नगरपालिकाले जनाएको छ । सम्पदा क्षेत्रभित्रका बिजुलीको पोलमा राखिएका प्रयोग नभएका सबै तार काट्न लगाउने अभियान आज शुक्रबारबाट थालिएको हो । पुल्चोकको अक्षेश्वर महाविहार क्षेत्रबाट तार हटाउन थालिएको ललितपुर महानगरपालिकाका प्रहरी प्रमुख सिताराम हाथेछुले बताउनुभयो ।
यसअघि ललितपुर महानगरपालिकाले आयोजना गरेको तार व्यवस्थापनसम्बन्धी छलफल कार्यक्रममा सरोकारवालालाई प्रयोग नभएको तार हटाउन १० दिने अल्टिमेटम दिएको थियो ।
महानगर प्रहरी प्रमुख हाथेछुले ‘दुई दिनअघि भएको इन्टरनेट प्रदायकसहितको बैठकमा सम्पदा क्षेत्रमा १० दिनभित्र तार व्यवस्थापन गर्ने, महानगरले तार काट्ने कुरा भएको थियो । उनीहरुलाई १० दिनभित्र तार व्यवस्थित गर्न सहमति गराएका थियौँ । तार व्यवस्थित गर्नका लागि २० जना नगरप्रहरी पनि खट्ने निर्णय भएको थियो । अब नयाँ तार राख्दा गाडीले नछुने र पोलको माथि व्यवस्थित ढंगले राख्नुपर्ने छ’— भन्नुभयो ।
हाल बिजुलीको पोलमा प्रयोगमा नभएको ८० प्रतिशत हाराहारी इन्टरनेटको तार रहेको र त्यसका कारण शहर र सम्पदा क्षेत्र कुरुप भएको उनले बताए । पुराना तार हटाएर नयाँ तार राखेपछि प्रयोग नहुने इन्टरनेटको तार पोलमा नराख्न पनि इन्टरनेट प्रदायकलाई सहमत गराइएको छ । मेयर चिरिवाबु महर्जनले महानगरले सडकमा टायल हालेर राम्रो पार्ने तर सडकमाथि विजुलीको पोलमा तारको गुजुल्टोले शहर कुरुप देखिएको भनेर तार व्यवस्थापन गर्न निर्देशन दिएका थिए ।
हाथेछुले भने– ‘तारै तारले गर्दा पर्यटकहरुले मठ–मन्दिरको फोटो खिच्न पाएका छैनन् । तारले गर्दा राम्रो फोटो खिच्न नपाएको भनेर पर्यटकले समेत गुनासो गर्ने गरेका छन् । हुनपनि पनि हो सम्पदा क्षेत्रमा फोटो खिच्दा छ क्लियर आउनुपर्यो, तारै तारको फोटो खिचेर त भएन ।’ १० दिनभित्र सम्पदा क्षेत्र, मच्छेन्द्रनाथको रथ तान्ने क्षेत्रमा प्रयोग नभएका तार काटेर व्यवस्थित बनाउन लागेको उनले बताए ।
महानगरको चारवटा अशोक स्तुपा क्षेत्र आसपास, कुम्भेश्वर मन्दिर, पाटन दरबार क्षेत्र, रातो मछिन्द्रनाथको रथ निर्माण गर्ने र रथ तान्ने क्षेत्रका पोलमा रहेका तार हटाउने काम सुरु गरिएको हो । तार काटेपछि नयाँ तार राख्नका लागि इन्टरनेट सेवा प्रदायक कम्पनीलाई नयाँ तार राख्नका लागि नगर प्रहरीले सहयोग समेत गर्ने भएको छ ।