फाइल तस्वीर
काठमाडौं — काठमाडौं महानगरपालिकाले पशुपति क्षेत्रमा बनेका अनधिकृत संरचना हटाउन २४ घण्टाको अल्टिमेटम दिएको छ । उक्त क्षेत्रमा अतिक्रमण गरी बनाइएका भौतिक संरचना तत्काल हटाउन २४ घण्टाको अल्टिमेटम दिएको हो ।

महानगरपालिकाको टोलीले पशुपति क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका संरचनाहरुको निरीक्षण गरेपछि ती संरचना हटाउन निर्देशन सहितको अल्टिमेटम दिएको जानकारी पाएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमन अधिकारीले बताउनुभयो । कोषका प्रवक्ता अधिकारीले “हामीलाई औपचारिकरुपमा महानगरले जानकारी दिएको छैन, तर अतिक्रमण गरिएका संरचना हटाउन २४ घण्टाको अल्टिमेटम दिएको छ भन्ने सुन्नमा आएको छ”– भन्नुभयो ।

पशुपति क्षेत्र विकास कोषबाट एक रोपनी जग्गा वार्षिक ५० हजार रुपैयाँमा भाडामा लिएर १० रोपनी जग्गा गौशाला, धर्मशालाका नाममा सञ्चालन भइरहेको पाइएको काठमाडौं महानगरले जनाएको छ ।

यसैगरी पशुपति क्षेत्रमा २० वटाभन्दा धेरै सटर बिना दर्ता सञ्चालन भइरहेको महानगरको निरीक्षणमा भेटिएको छ । धर्मशालाले नक्सा पास बिना नै संरचना निर्माण गरेको पाइएकाले त्यस्ता संरचना हटाइने महानगरले जनाएको छ । बुधबार कोषले महानगरलाई पत्र लेख्दै पशुपति क्षेत्र विकास कोष र महानगर दुवैलाई थाहा नदिई अवैधरुपमा निर्माण भएका संरचना, सम्झौताविपरीतका व्यवसाय, अतिक्रमित संरचना हटाउन अनुरोध गरेको थियो । सोहीअनुसार महानगरले बिहीबार अनुगमन गर्दै २४ घण्टाभित्र त्यस्ता संरचना हटाउन निर्देशन दिएको हो ।