फाइल तस्वीर
काठमाडौं — आठ दलीय गठबन्धनले सातवटै प्रदेशमा अभिमुखीकरण कार्यक्रम गर्दैछन् । फागुन २५ गते बिहीबार हुनलागेको राष्ट्रपति निर्वाचनलाई लक्षित गर्दै आठ दलीय गठबन्धनले आज शुक्रबार अभिमुखीकरण कार्यक्रम गर्नलागेका हुन् ।
हिजो बिहीबार पनि आठ दलले सङ्घीय संसद्का आफ्ना सांसद्हरुलाई यसै विषयमा अभिमुखीकरणको आयोजना गरेको थियो । आज प्रदेशसभाका सदस्यहरुका लागि अभिमुखीकरणको निम्ति गठबन्धनका नेताहरू सातै प्रदेशका राजधानी पुगेका छन् । सबै प्रदेशमा हुने अभिमुखीकरण कार्यक्रमको संयोजन नेपाली काङ्ग्रेसका नेताहरुले गर्नेभएका छन् ।
राष्ट्रपतिको उम्मेदवारमा नेपाली काङ्ग्रेसले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई उठाएको छ भने नेपाल कम्युनिस्ट पार्टी एमालेले पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार बनाएको छ ।
काङ्ग्रेसले आफ्ना उम्मेदवारलाई निर्वाचित गराउन सङ्घीय र प्रदेशसभाका सांसद्हरुका निम्ति अभिमुखीकरण कार्यक्रम राखेको हो । अभिमुखीकरण कार्यक्रमका लागि काङ्ग्रेसले कोशी प्रदेशमा महामन्त्री विश्वप्रकाश शर्मा, मधेश प्रदेशमा सह–महामन्त्री फरमुल्लाह मन्सुर, बागमती प्रदेशमा महामन्त्री गगन थापा, गण्डकी प्रदेशमा उपसभापति धनराज गुरूङ, लुम्बिनी प्रदेशमा सह–महामन्त्री किशोरसिंह राठौर, कर्णाली प्रदेशमा उप–सभापति पूर्णबहादुर खड्का र सुदूरपश्चिममा सह–महामन्त्री बद्री पाण्डेलाई खटाएको छ ।
बागमती प्रदेशका आठवटै राजनैतिक दलका प्रदेशसभा सदस्यलाई आज दिउँसो १ बजे नयाँ बानेश्वरमा अभिमुखीकरण कार्यक्रम गर्न लागिएको छ । यही फागुन २५ गते हुने निर्वाचनमा दुई आठ दलको समर्थनमा काङ्ग्रेस नेता रामचन्द्र पौडेल र एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्बाङ चुनावी मैदानमा छन् । काङ्ग्रेस वरिष्ठ नेता पौडेलको पक्षमा संसदमा प्रतिनिधित्व गर्नेमध्ये आठ दल सहित स्वतन्त्र सांसदहरु रहेका छन् ।