उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, फाइल तस्वीर
काठमाडौं — उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ अल्पविकसित राष्ट्रहरुको सम्मेलनमा सहभागी हुन आज शुक्रबार कतारको राजधानी दोहा जादै हुनुहुन्छ । परराष्ट्र मन्त्रालयका अनुसार उपप्रधानमन्त्री श्रेष्ठले दोहामा आयोजना हुने सम्मेलनमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै त्यसतर्फ जान लाग्नु भएको हो ।
फागुन २१ गतेदेखि २५ गत (५ देखि ९ मार्च)े पाँचदिने दोहा प्रमणका लागि आज साँझ त्यसतर्फ प्रस्थान गर्नुहुने उपप्रधानमन्त्रीको निजी सचिवालयले बताएको छ ।
उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री श्रेष्ठको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलका अन्य सदस्यहरुमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ, उपप्रधानमन्त्री श्रेष्ठका प्रमुख स्वकीय सचिव सुरेशकाजी श्रेष्ठ, सांसद जितेन्द्र नारायण देव, नेपाल सरकारका सचिव, कतारका लागि नेपाली राजदूत लगायत जानुहुने बताइएको छ । ।
उक्त सम्मेलनमा यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जाने तय भएको थियो । तर बदलिंदो राजनीतिक परिस्थिति, २५ गते हुने राष्ट्रपति निर्वाचन लगायतका कारण प्रधानमन्त्री प्रचण्डले आफ्नो भ्रमण रद्द गर्दै उपप्रधानमन्त्री श्रेष्ठलाई दोहा पठाउन लाग्नुभएको हो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्री श्रेष्ठलाई सम्मेलनमा भाग लिन पठाउने निर्णय गरेको थियो ।
नेपालले यस वर्षदेखि एलडीसीको अध्यक्षता गर्ने तालिका छ । यसअघि मलावीले यसको अध्यक्षता गरिरहेको थियो । उपप्रधानमन्त्री श्रेष्ठले भ्रमणका क्रममा एलडीसी सम्मेलनका प्लेनरी सेसनमा भाग लिनुहुने छ भने विभिन्न देशका प्रतिनिधिसँग द्विपक्षी छलफलसमेत गर्ने कार्यक्रम रहेको परारष्ट्र मन्त्रालयले जनाएको छ । साथै, दोहामा रहेका नेपालीहरूसँग समेत मन्त्री श्रेष्ठले भेट तथा छलफल गर्ने कार्यक्रम रहेको छ । उपप्रधानमन्त्री श्रेष्ठले विभिन्न देश तथा संघ संस्थाका प्रतिनिधिहरुसँग समेत द्विपक्षीय भेटवार्ता गर्ने कार्यसूची रहेको छ ।