फाइल तस्वीर
काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी एमालेका नेताहरु नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न पुग्नुभएको छ । पार्टी विभाजन पछि एमालेका नेताहरु एसका अध्यक्ष नेपालसँगको भेटलाई तिब्रता दिंदै आलोकनगरस्थित एसको पार्टी कार्यालयमा पुगेर नेता नेपाललाई भेट्नुभएको हो ।
आफ्ना पूर्व नेता नेपाललाई भेट्न उपाध्यक्षद्वय सुवासचन्द्र नेम्वाङ, विष्णुप्रसाद पौडेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव रघुविर महासेठ र केन्द्रीय सदस्य डा. बिमला राई पौड्याल आलोकनगरस्थित एसको पार्टी कार्यालयमा पुग्नुभएको थियो । राष्ट्रपतिका उम्मदेवार नेम्वाङको पक्षमा मत माग्न नेताहरु एसका अध्यक्ष नेपाललाई भेट्न जानुभएको बताइएको छ । यद्यपि, एकको सचिवालय बैठकले तीनदिन अघिमात्रै नेपाली काङ्ग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई मत दिने औपचारिक निर्णय नै गरिसकेको छ ।
उक्त भेटमा एसका अध्यक्ष नेपालसहित पार्टी उपाध्यक्ष प्रमेश हमाल, महासचिव बेदुराम भुसाल, उप—महासचिवद्वय प्रकाश ज्वाला र जगन्नाथ खतिवडा तथा स्थायी कमिटी सदस्य रामचन्द्र झा समेत हुनुहुन्थ्यो ।
पार्टीविभाजन पूर्वदेखि नै तिक्ततापूर्ण सम्बन्ध रहँदै आएको यी एमाले र पूर्वएमाले हाल एसका नेताहरुबीच भेटघाट बाक्लिंदै गएको छ । दुई कम्युनिस्ट घटका नेताहरुबीच फागुन ७ गते एकीकृत समाजवादीका सांसद किसान श्रेष्ठको घरमा झण्डै डेढ घण्टा कुराकानी भएको थियो । आसन्न राष्ट्रपति निर्वाचनलाई लक्षित गर्दै एमालेले एसलाई फकाउँदै पार्टी एकतासम्मको प्रस्ताव राखेको थियो । एमालेले यतिबेला एसका नेताहरुलाई भेटेर पार्टी एकता गर्नेसम्मको प्रयास भैरहेको छ ।
एमालेले संसदमा ठूलो दलबन्ने कसरत गर्दै एसलाई पार्टी एकताको प्रस्ताव अघि बढाउने वातावरण तयार गर्न लागेको विश्लेषण गरिंदैछ । एमाले संसदको ठूलो दल बनेर अल्पमतको सरकार बनाउने रणनीतिमा रहेको छ । हिजोसम्म एकीकृत समाजवादीको अस्तित्वलाई स्वीकार गर्न नचाहेको एमालेले राष्ट्रपति निर्वाचनको सङ्घारमा एससँगको तिक्तताको सम्बन्धलाई तोड्दै निकटता बनाउनुको अर्थ पार्टी एकता गरेर संसदमा ठूलो दल बन्नु हो ।
राष्ट्रपति निर्वाचनलाई केन्द्रविन्दुमा राखेर एमाले अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग महाराजगञ्जमा ‘वान अन वान’ चार घण्टा कुरा गर्नुहुँदै पार्टी एकता गर्ने शर्तमा राष्ट्रपतिको उम्मेदवार बन्न दवाव दिनुभएको थियो । एकताको शर्तमा आफु राष्ट्रपतिको उम्मेदवार नबन्ने जवाफ नेता नेपालले दिनुभएपछि ओली र नेपालबीचको संवाद रोकिएको छ । दुई पार्टीबीचको सम्बन्ध सुधार गर्दै पार्टी एकताको लागि अहिले एमालेका दोस्रो तहका नेताहरु एसका नेताहरुको सामिप्यमा पुग्नु भएको छ ।
पार्टी विभाजन पछि एमाले र एसका नेताहरुबीच तिक्ततापूर्ण सम्बन्ध रहँदै आएको थियो । एमालेबाट विद्रोह गरेर २०७८ साल भदौ ९ गते औपचारिक रुपमा नेकपा (एकीकृत समाजवादी) बनेपछि दुई पार्टीका नेताहरु औपचारिक रुपमै संवादविहिनको अवस्था थियो । संवादविहिनको अवस्थालाई आइस ब्रेक गर्ने अवसर राष्ट्रपनि निर्वाचनले जुराएको होभन्दा अत्युक्ति नहोला । राष्ट्रपतिमा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई जिताउन सहयोग माग्दै एमाले अध्यक्ष ओलीले अध्यक्ष नेपाललाई सम्बोधन गरेर १३ फागुनमा औपचारिक पत्र पठाउनु भएको थियो । उक्त पत्रमा एकीकृत समाजवादीको सहयोगको अपेक्षा गरिएको छ ।
एमालेले २०७८ मङ्सिर दोस्रोसाता चितवनमा आयोजना गरेको दशौं महाधिवेशनमा एकीकृत समाजवादीलाई बाइकट नै गरेको थियो । एमाले नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, राप्रपालगायत अन्य पार्टीलाई आमन्त्रण गर्दा एसलाई कुनै महत्व नै नदिइ पार्टीको रुपमा स्वीकार गर्न चाहेन । कतिसम्म भने एमाले अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीलाई पार्टी नै नमानेको टिप्पणी समेत गर्नुभएको थियो । नेता नेपालको नाम लिंदा अपवित्र हुन्छ भन्दै अध्यक्ष ओलीले मुख कुल्ला गर्नुपर्नेसम्मका अभिव्यक्ति दिनुभएको थियो ।
एसका अध्यक्ष नेपाल पनि के कम, एमाले अध्यक्ष ओलीलाई प्रतिगामीको संज्ञा दिँदै एमालेलाई टर्च बालेर खोज्ने अवस्थामा पुर्याइदिने चेतावनी दिनुहुन्थ्यो । राजनीतिक वैचारिक, पार्टीको कार्यनीति र कार्यदिशाको विषयमा दुवै नेताहरुले कुनै कुरा उठाउनु भएन । केवल चरित्र चित्रण गर्ने गालिगर्ने निचताको हदसम्म पुगेको देखिन्थ्यो ।
गत पुष १० गते माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएपछि ११ गतेको शपथ ग्रहण कार्यक्रममा एमाले अध्यक्ष ओली र एकका अध्यक्ष नेपालबीच करिव २० महिना लामो सम्वादहीनताको अवस्थाको अन्त्य गर्दै बोलचालको बाटो खुल्यो । त्यसपछि एमाले र एकीकृत समाजवादीबीच हिमचिम बढ्न थालेको छ । राजनीतिमा कोही स्थायी सत्रु हुँदैन भन्ने सन्देश एमाले र एकीकृत समाजवादीका नेताहरुको बाक्लिंदो सम्बन्धले पुनः स्मरण गराएको छ ।
एसका अध्यक्ष नेपालले धनुषामा पार्टीको मधेश प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा जाँदा सञ्चारकर्मीहरुसँग कुरागर्दै ‘सरकार पुनर्गठनबारे छलफल भएको छैन, तर एमालेलाई किन सरकारबाट निकाल्ने ? एमालेसहितको राष्ट्रिय सरकार बन्नुपर्छ’ भन्नुभएको विषयलाई अर्थपूर्ण रुपमा हेर्न सकिन्छ ।