राष्ट्रपति विद्यादेवी भण्डारी, फाइल तस्वीर
दोलखा— राष्ट्रपति विद्यादेवी भण्डारीले दोलखा जिल्लासँग जोडिएको उत्तर–दक्षिण जोड्ने परम्परागत लामाबगर नाका खोल्नका लागि सार्थक पहलको आवश्यकता रहेको बताउनुभएको छ । ग्रामीण विकास टुकी सङघद्वारा आज दोलखामा आयोजित प्रदर्शनी कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो धारणा व्यक्त गर्नुभएको हो ।

राष्ट्रपति भण्डारीले सो नाका खोल्न सकेमा दोलखा हुँदै चीन र भारतसँग छोटो दूरीमा त्रिदेशीय यातायात सिधा सम्पर्क हुने र यसबाट समग्र नेपालकै विकासमा थप टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

“प्राचीनकालदेखि नै दोलखा जलस्रोतमा धनी छ । स्वदेशी पूँजीमा निर्माण सम्पन्न भएको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना र अन्य विद्युत् आयोजनाहरूमार्फत यो जिल्लाले देशको विद्युत् उत्पादनमा उल्लेख्य योगदान पु¥याएको छ । तामाकोसी तेस्रो जलविद्युत् आयोजनालाई शीघ्र कार्यान्वयनमा ल्याउन पहल गर्नु जरुरी छ”, राष्ट्रपति भण्डारीले भन्नुभयो ।

“जैविक विविधताले भरिपूर्ण हिमाल, पहाड र बेँसीहरूको धनी दोलखा जिल्ला पर्यटकीय महत्त्वको जिल्ला पनि हो । हिमचितुवा र रेडपाण्डाजस्ता लोपोन्मुख जङ्गली जनावरको बासस्थान रहेको यहाँका वनजङ्गल र जडीबुटी समुदायको जीविकोपार्जनका स्रोत पनि हुन् । यसका साथै प्राकृतिक सुन्दरताले भरिपूर्ण रमणीय स्थलहरू, विविध जातजाति र समुदायका सांस्कृतिक सम्पदा, प्रसिद्ध ऐतिहासिक तथा धार्मिकस्थलहरू पर्यटन क्षेत्रका दरिलो आधार हुन् ”– राष्ट्रपति भण्डारीले उल्लेख गर्नुभयो ।

दोलखा भीमेश्वर मन्दिर, कालिञ्चोक भगवती मन्दिर, त्रिपुरासुन्दरी मन्दिरका साथै बिगु गुम्बा, चरिघ्याङ गुम्बालगायत बौद्धमार्गीहरूका विभिन्न गुम्बा धार्मिक पर्यटनका लागि महत्त्वपूर्ण गन्तव्यलाई प्रवर्द्धन र हिमाली तथा उच्च पहाडी क्षेत्रमा याक, चौँरी र भेडापालन व्यवसाय गर्ने किसानका समस्यालाई सम्बद्ध पक्षले उचितरूपमा सम्बोधन गर्न उहाँले आग्रह गर्नुभयो ।

उच्च भेगमा गरिने पशुपालनका लागि चरिचरनमा सहजता, पशु बिमाको सुलभ व्यवस्था, उत्पादित वस्तुको ढुवानी र बिक्रीका लागि बजारको व्यवस्था गर्न सम्बद्ध निकायको ध्यान जानुपर्नेमा जोड दिँदै राष्ट्रपति भण्डारीले खाद्य उत्पादनका लागि बर्सेनि मलको अभाव खेपिरहेका किसानको मर्कालाई मध्यनजर गर्दै कृषि क्षेत्रमा विशेष सहुलियत र अनुदानको व्यवस्था हुनुपर्छ भन्ने जनआवाजलाई समेत सम्बद्ध पक्षले उचित ध्यान दिने विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्रपति भण्डारीले दोलखाको डाँङडुँगेडाँडामा अन्तर्राष्ट्रियस्तरको फिल्मसिटी निर्माण गर्ने आयोजनालाई सफल बनाउन पनि सम्बद्ध पक्षले आवश्यक पहल गर्नुपर्ने बताउनुभयो । रासस