प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, फाइल तस्वीर
काठमाडौं — सभामुख देवराज घिमिरेले सञ्चारमाध्यमसम्बन्धी विधेयकलाई अघि बढाउन आफू तयार रहेको बताउनुभएको छ । नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा) ले ‘इञ्जा डे’ को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो धारणा व्यक्त गर्नुभएको हो ।
सञ्चारकर्मीहरुको हक अधिकार र व्यवसायिक दक्षताको लागि नीति र व्यवहारबाट सहयोग गर्नुपर्ने कतिपय विधेयकहरु अल्झिरहेका, विवादमा रहेर रोकिएकाले तिनीहरूलाई अघि बढाउन आफू तयार रहेको उल्लेख गर्दै सभामुख घिमिरेले रोकिएका विधेयकहरूमा सञ्चारमाध्यमहरूसँग बसेर छलफल गर्न र संसदमा अघि बढाउने प्रक्रियामा पुग्न आवश्यक रहेको बताउनुभयो ।
सभामुख घिमिरेले ‘हाम्रो विगतको लक्ष्य खास गरेर व्यवस्थालाई परिवर्तन गर्नु थियो, विरोध गर्नु थियो, ढाल्नु थियो । एकखालको मिसन थियो र त्यसबेला मिसन पत्रकारिता थियो । अब बहुदलीय व्यवस्था वा लोकतान्त्रिक गणतन्त्रको संविधान र संविधानबाट निर्वाचित निकायहरू बनिसकेपछि कसरी जानुपर्छ भन्ने विषयमा खोजमूलक ढङ्गबाट जानुपर्छ । सञ्चारकर्मीहरूको हक अधिकार र व्यावसायिक दक्षताको लागि नीति र व्यवहारबाट सहयोग गर्नुपर्ने कतिपय विधेयकहरू अल्झिरहेका छन् । विवादमा रहेर रोकिएका विषयहरुलाई अघि बढाइयोस् भन्ने चाहना आकाक्षा जायज छ । रोकिएको विधेयक अघि बढाउन सभामुख भएको नाताले मेरो ठाउँबाट अघि बढाउन म तयार छु’— भन्नुभयो ।
उक्त कार्यक्रममा इञ्जाले ‘इञ्जा बौद्धिक पत्रकारिता पुरस्कार’ जगत नेपाल र माधवप्रसाद तिवारीलाई ‘इञ्जा खोजि पत्रकारिता पुरस्कार—२०७९’ बाट मात्रिका दाहाल र तारा वाग्लेलाई सम्मान गरेको छ । यसैगरी ग्रामीण पत्रकारिता पुरस्कार — २०७९ बाट सरिता चलाउने र फोटो पत्रकारिता पुरस्कार— २०७९ मा इञ्जाले सुरेशकुमार श्रेष्ठ र नरेन्द्र श्रेष्ठलाई सम्मान गरेको छ ।