काठमाडौं — नेपाली काङ्ग्रेसका सांसद टेकबहादुर गुरुङ भ्रष्टाचार मुद्दामा दोषी ठहर हुनुभएको छ । भृकुटीमण्डपस्थित फनपार्कको जग्गा सस्तोमा भाडामा दिएर भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान अयोगले गुरुङविरुद्ध २०७५ माघ १२ गते मुद्दा दायर गरेको थियो ।
विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यद्वय शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले गुरुङलाई मतियारका रूपमा दोषी ठहर गरेको हो ।
उक्त मुद्दामा गुरुङ दोषी ठहर हुनुभएको छ भने पाँच जनाले सफाई पाएको प्रवक्ता दीपेन्द्रनाथ योगीले जानकारी दिनुभयो । उहाँका अनुसार बलबहादुर स्वार, मदनप्रसाद रिमाल, रत्नबहादुर गाहा मगर, प्रेमसिंह धामी र जलदेव चौधरीले सफाइ पाएका हुन् । सजाय तोक्न फागुन २५ गतेलाई पेसी तोकिएको बताइएको छ ।