काठमाडौं — राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू भएको छ । निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आयोगले फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गरेको हो ।

राष्ट्रपति निर्वाचनका लागि आठ दलीय सत्ता गठबन्धनबाट नेपाली काङ्ग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ उम्मेदवार हुनुहुन्छ ।

क–कसलाई लाग्छ आचारसंहिता ?
आयोगको निर्णय अनुसार यी व्यक्तिलाई आचारसंहिता लागू हुनेछ ।

(क) नेपाल सरकार र नेपाल सरकारका मन्त्री,
(ख) प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री,
(ग) संघ, प्रदेश र स्थानीय तहका कर्मचारी,
(घ) सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी,
(ङ) सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय तथा कर्मचारी,
(च) राजनीतिक दल तथा राजनीतिक दलको भातृ सङ्गठन,
(छ) उम्मेदवार तथा उम्मेदवारको प्रतिनिधि,
(ज) राजनीतिक दल तथा उम्मेदवारको मतदान एवम् मतगणना प्रतिनिधि,
(झ) सार्वजनिक पद धारण गरेको व्यक्ति,
(ञ) सञ्चार प्रतिष्ठान, सोका कर्मचारी तथा सञ्चारकर्मी,
(ट) मतदाता
संवैधानिक व्यवस्था राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि सङ्घीय संसद्मा हाल कायम रहेका ३३२ र प्रदेशसभाका ५५० गरी कूल ८८२ मतदाता रहेको निर्वाचक मण्डल रहने छ । स्वीकृत कार्यक्रमबमोजिम राष्ट्रपतिको निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना भई यही फागुन १३ गते उम्मेदवारीको मनोनयन पत्र दर्ता भइसकेको छ ।

आयोगले निर्वाचन आचारसंहिताको पालना गरी निर्वाचनको स्वच्छता र विश्वसनीयता कायम गर्न सबै पक्षलाई आग्रह गरेको छ । आचारसंहिता अन्तर्गत मतदानको ४८ घण्टा अघिदेखि सभा, जुलुस, नाराबाजीलगायत प्रचारप्रचार गर्न नपाउने व्यवस्था छ । साउन्ड सिस्टम, एसएमएस, सामाजिक सञ्जाल तथा अन्य कुनै साधन प्रयोग गर्न नपाउने भनिएको छ । बाजा, सार्वजनिक भोज, हुलहुज्जत गर्न नपाइने, हातहतियार लिएर हिँड्न नपाइने व्यवस्था आचारसंहितामा छ । मादक पदार्थ पनि निषेध गरिएको छ।

राष्ट्रपति र उपराष्ट्रपतिका उम्मेदवारलाई निर्वाचन खर्चको सीमा अधिकतम चार लाख रुपैयाँ तोकिएको छ । निर्वाचनमा संघीय संसदका ३३२ र प्रदेशसभाका ५५० जना गरी ८८२ जना मतदाता रहन्छन् ।
यस्तो छ निर्वाचन आचारसंहिताको पूर्ण पाठ: