फाइल तस्वीर
काठमाडौं — उत्तर–दक्षिण करिडोर अबको दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य लिइए पनि अझै धेरै पुलको निर्माण गर्न बाँकी छन् । कालीगण्डकी करिडोरमा १५ वटा, कोशी करिडोरमा चारवटा र कर्णाली करिडोरमा पाँचवटा पुल निर्माण गर्न बाँकी रहेको हो ।

कोशी करिडोरमा दुईवटा पुल सम्पन्न भइसकेको र दुईवटा निर्माणाधीन रहेको आयोजनाले जनाएको छ । बरुण नदीमा ७० मिटर लम्बाईको पुल निर्माणाधीन रहेको छ । त्योभन्दा माथि चार पुलको डिजाइन भइसकेको उत्तर–दक्षिण करिडोर आयोजनाका प्रमुख श्यामबहादुर खड्काले जानकारी दिनुभयो । आयोजनाका प्रमुख खड्का ‘अझै पनि चार पुल ठेक्कामा जान बाँकी रहेको छ’— भन्नुहुन्छ ।

कालीगण्डकी करिडोरमा हालसम्म पाँचवटा पुल सम्पन्न भइसकेको आयोजनाले जनाएको छ । जम्मा १२ वटा पुल निर्माणाधीन भए पनि तीमध्ये धेरै सम्पन्न हुने चरणमा रहेको प्रमुख खड्काले जानकारी दिनुभयो । निर्माणाधीन पुल ६०÷७० मिटर लम्बाइसम्मका छन् । चालू आ.व.मा दुईवटा पुल निर्माणका लागि ठेक्का आह्वान गरिएको उहाँले जानकारी दिनुभयो । चौधवटा पुल निर्माण गर्ने लक्ष्य रहेकामा पाँच सकियो भने अरूमा काम भइरहेको छ । उहाँले भन्नुभयो, ‘समग्रमा १५ पुल ठेक्का लगाउन बाँकी रहेको छ ।’

प्रगतिका हिसाबले सबैभन्दा पछि रहेको कर्णाली करिडोरमा जम्मा पुलसँगै विभिन्न कल्भर्ट पनि निर्माण गर्नुपर्नेछ । सानासाना खोल्सामा कल्भर्ट बनाउनुपर्ने रहेको आयोजना प्रमुख खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, ‘कतै ठेक्का लगाएर निर्माणाधीन छन् भने थप कल्भर्टका लागि ठेक्का आह्वान गरिएको छ ।’

कर्णाली करिडोरमा जम्मा १४ वटा पुल रहेकामा नौवटा असार मसान्तमा ठेक्का लागेको हिल्सा–सिमकोट सडक योजनाका प्रमुख वीरेन्द्रकुमार यादवले बताउनुभयो । गत आ.व. र त्योभन्दा पहिले निर्माण सुरु भएका पाँचवटा पुल निर्माणाधीन रहेका छन् । आयोजना प्रमुख यादवका अनुसार अझै चार–पाँचवटा पुल डिजाइन हुन बाँकी छन् । ति पुल बनाउनको लागि सर्र्वे डिजाइन भइरहेको छ ।